छाला जुत्ता प्रदर्शनीमा उत्साहजनक सहभागिता

काठमाडौं, १२ पुस । ‘नेपाली ब्रान्डको प्रयोग नै स्वदेशी उद्योगको सम्मान’ भन्ने नाराका साथ राजधानीमा सुरु भएको छाला वस्तु तथा जुत्ता चप्पलको नवौँ औद्योगिक प्रदर्शनी–०६९ मा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको छ । आफ्ना ब्रान्डबारे अवलोकनकर्तालाई जानकारी गराउन उद्योगी तथा व्यवसायीलाई भ्याइनभ्याई छ । ९ पुसबाट सुरुभएको प्रदर्शनी तीन दिनमा २० हजार बढीले अवलोकन गरिसकेको आयोजक छाला जुत्ता तथा वस्तु उत्पादक संघ, नेपालले बताएको छ ।

मेलाले स्वदेशी छालाजन्य वस्तु तथा जुत्ता चप्पलको बजार प्रवद्र्धन तथा आयात प्रतिस्थापन गरी निर्यातमा प्रवद्र्धन गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ । मेलाले स्वदेशी वस्तुको आन्तरिक एंव बाह्य बजार विस्तारमा सहयोग पुग्ने आयोजकले बताए । मेलामा स्वदेशमा उत्पादन भएका वस्तुबारे उपभोक्तालाई जानकारी गराउने, गुणस्तरीय वस्तु उपलब्ध गराउने र उत्पादक र उपभोक्ताबीचको सम्बन्ध मजबुत गराइने संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए । पछिल्लो समय स्वदेशी छाला जुत्ता तथा वस्तुप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उनको दाबी छ ।
मेलामा ५० भन्दा बढी उद्योगको ८० स्टल रहेको छ । स्वदेशी उत्पादनबारे आमउपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनबारे जानकारी गराउने मेलाको उद्देश्यका साथ प्रत्येक वर्ष मेला आयोजना गरिरहेको छ । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रदर्शनीका माध्यमबाट व्यापक प्रचार–प्रसार गरी बाह्य बजारसमेत विस्तार, विदेशी जुत्ता चप्पल र वस्तुहरूको आयातलाई प्रतिस्थापन गरी जुत्ता–चप्पल तथा उत्पादनमा आत्मनिर्भर बनाउनु पर्ने मेलाको मुख्य उद्देश्य रहेको छ ।
कुल मागको ५५ प्रतिशत स्वदेशी उत्पादनबाट पूर्ति भएको छ भने बाँकी ४५ प्रतिशत भारत, चीनलगायत देशबाट आयात हुने गरेको छ । नेपालमा छाला जुत्ता, क्याजुअल सुज र स्पोर्ट सुजमा संस्थागत उद्योगबाट ४० प्रतिशत र परम्परागत उद्योगबाट १५ प्रतिशत, चीनबाट १७ प्रतिशत, भारतबाट ९ प्रतिशत र बाँकी १९ प्रतिशत अन्यमुलुकबाट आयात हुने गरेको छ । नेपालमा ५ सयभन्दा बढी जुत्ता चप्पल उद्योग सञ्चालमा छन् भने यस उद्योगबाट २५ हजारले प्रत्यक्ष रोजगारी र दुई लाख ५० हजारले अप्रत्यक्ष रोजगारी पाएको संघले जनाएको छ ।
‘उद्योगी र उपभोक्ताको जमघट हुन्छ’
होमनाथ उपाध्याय,

अध्यक्ष, छाला जुत्ता तथा वस्तु उत्पादक संघ तथा बिएफ डियर हिल सुज
मेलाबाट स्वदेशमा उत्पादन भएका छाला जुत्ता तथा चप्पलबारे उपभोक्तालाई जानकारी गराउने, गुणस्तरीय वस्तु उपलब्ध गराउने र उत्पादक तथा उपभोक्ताबीचको सम्बन्ध मजबुत हुनेछ । विभिन्न उद्योगका उद्योगी र उपभोक्ताको जमघट हुने भएकाले ब्रान्डाबारे सम्पूर्ण जानकारी सजिलै लिन सकिन्छ । यस्तो प्रकारको मेलाले नेपाल सबै ब्रान्डका बारेमा जानकारी लिन पाउने भएकाले उनीहरूका रोजाइका जुत्ता–चप्पल खरिद गर्न सक्छन् ।
उपभोक्तामाँझ बिएफ डियर हिल सुजले नेपालमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हामीले ८५ वटा मोडलका जुत्ता उत्पादन गरेका छौँ । जुसमा सबै वर्गका लागि उपयुक्त रहन्छ । उपभोक्ताको प्रतिक्रियालै कम्पनीका लागि राम्रो हुने छ ।
‘अल्लोको जुत्ता ल्याएका छाौ’
मनोजकुमार श्रेष्ठ,

अध्यक्ष, स्काई सुज तथा सचिव छाला जुत्ता तथा वस्तु उत्पादक संघ
स्काई सुज नेपाली जुत्ता पारखीका लागि पहिलो रोजाइको ब्रान्ड हो । हामीले सबै तहका व्यक्तिको उपयोगका लागि विभिन्न प्रकारका जुत्ता उत्पादन गरेका छौँ । अल्लोबाट बनेको जुत्ता मेलाको मुख्य आकर्षण रहेको छ । फर्मल र क्याजुअल मोडलमा रहेको जुत्ताले उपभोक्ताको आँखा तानेको छ । छालाको विकल्प के हुन सक्छ भन्ने अध्ययनपछि हामीले अल्लोबाट निर्माण गर्न सकिने पत्ता लगाएका हौँ । स्कुल, कलेज, युवादेखि बूढापाका सबैखालका मोडल जुत्ता स्काई सुजले उत्पादन गरेको छ । मेलाको अवसरमा १० देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेका छौँ । उपभोक्ताको प्रतिक्रिया पनि राम्रो पाएका छौँ । जसले गर्दा हामीले सुधार्ने मौका पनि पाएका छौँ । यस कम्पनीले उत्पादन गरेको हरेक जुत्तामा ६ महिनाको वारेन्टीसमेत प्रदान गरेका छौँ । हामीले ३० जनालाई प्रत्यक्ष र ६० लाई अप्रत्यक्ष रोजगारी प्रदान गरेका छौँ । २० देखि २५ को हाराहरीमा हामीले डिलरबाट जुत्ता बिक्री गरिहेका छौँ ।

‘विगत वर्षभन्दा राम्रो छ’
कृष्णकुमार फुायाल, प्रबन्ध निर्देशक, क्रस रोड सुज तथा महासचिव छाला जुत्ता तथा वस्तु उत्पादक संघ

विगत वर्षभन्दा यस वर्ष उपभोक्ताको आकर्षण बढ्ने निश्चित छ । तीन दिनको सहभागिताले यस्तो संकेत गरेको हो । क्रस रोड सुजप्रति उपभोक्ताको आकर्षण बढेको महसुस भएको छ । गुणस्तर, टिकाउ, सस्तो मूल्यमा पाइने भएकाले यसको आकर्षण बढ्नु स्वाभाविक पनि हो । हरेका जुत्ता खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौँ । औद्योगिक प्रदर्शन भएकाले सबैले जुनसुकै कम्पनीबारे बुझ्न पाउने भएकाले जुत्ता सस्तो र राम्रो हुन्छ । एकहजार देखि २५ सयसम्मका जुत्ता यस कम्पनीले उत्पादन गरिरहेको छ । यस्ताखाले प्रदर्शनी ब्रान्ड प्रवद्र्धन गर्ने अति उत्तम काइदा हो ।

प्रतिक्रिया