प्रचण्डमा पनि सहमति जुट्दैन : कोइराला

काठमाडौं, १२ पुस । कांग्रेस सभापति सुशील कोइरालाले सत्तारुढ गठबन्धनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा चलाए पनि उनको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नसक्ने बताएका छन् ।

सत्तारुढ मोर्चा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्पमा प्रचण्डलाई अघि सार्ने जनाउ दिएका बेला कांग्रेस सभापति सुशील कोइरालाले यस्तो अभिव्यक्ति दिएका हुन् । विपक्षी दलको मात्र होइन, प्रचण्डले समेत आग्रह गरेकाले आफू प्रधानमन्त्री उम्मेदवार बनेको कोइरालाको भनाइ छ ।
महाराजगन्जस्थित निवासमा बुधबार कांग्रेस क्षेत्रीय सभापतिहरूका लागि आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग उनले गठबन्धनका कारण संकट बढेको आरोप लगाए । कहिले सत्ता गठबन्धनबाट नेतृत्व पाउनुपर्ने र कहिले संविधानसभा पुन:स्थापनाका बहानामा गठबन्धनले देशलाई झनै संकटतर्फ धकेलेको उल्लेख गर्दै आक्रोश पोखे । गठबन्धनबाट सरकारको नेतृत्व र संविधानसभा पुन:स्थापना हुन नसक्ने दाबी गर्दै उनले गठबन्धनको नेतृत्व कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे । उनले भने, ‘गठबन्धनले फेरि संविधानसभा पुन:स्थापनाको विषय उठाएर सत्ता लम्ब्याउने चाल चलेको छ । अब आन्दोलनको विकल्प छैन ।’
उनले एमाओवादी र मधेसी मोर्चाले सहमतिका नाममा अवरोध उत्पन्न गरेको आरोपसमेत लगाए । उनले एमाओवादीको ‘गलत रवैया’प्रति सचेत हुँदै आन्दोलनको तयारीका लागि लाग्न क्षेत्रीय सभापतिहरूलाई निर्देशन दिएका थिए । मंगलबार सकिएको २४० क्षेत्रीय सभापतिको भेलाले चारबुँदे थली घोषणापत्र जारी गरेको थियो । कोइरालाको नेतृत्वमा सरकार बनाई वैशाखमा चुनाव गर्न सशक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष भेलाले निकालेको थियो ।

प्रतिक्रिया