प्रहरी र तस्करबीच गोलीहानाहान

पर्सा, ११ पुस । पर्सा जिल्लामा प्रहरीले लागूऔषध चरेस बनाउन प्रयोग हुने ठूलो परिणाममा पाउडर बरामद गरेको छ ।
पटेर्वा सुगौली–९, मयौडास्थित रेन्जपोष्ट जंगलको छेउबाट प्रहरीले अवैध लागूऔषध बरामद गरेको जनाएको हो । चरेश बनाउन प्रयोग हुने पाउडर २ सय ४० किलो र गाँजा १० किलो बरामद गरेको प्रहरी भनाई छ ।
मकवानपुरबाट अवैध लागूऔषध गाँजा ल्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वाबाट प्रहरी टोली आज विहान साढे २ बजे एम्बुस थापेर बसेको थियो ।
लागूऔषध बोकेका व्यक्तिहरुले प्रहरीलाई देख्नासाथ फायर गरे पछि प्रहरीले समेत जवाफी फायर गरेको जनाएको छ । प्रहरीले जवाफी फायर गरे पछि उनीहरुले लागूऔषध फालेर भागेका थिए ।
यसैबीच, इलाका प्रहरी कार्यालय ठोरीले आइतबार राति निर्मलबस्ती–४ बस्ने बलबहादुर श्रेष्ठको घरबाट ५७ पोका गाँजा बरामद गरेको छ । अंदाजी ९ क्विइन्टल रहेको लागूऔषध गाँजा पनि आफ्नो नियन्त्रणमा राखेको प्रहरी भनाई छ ।
त्यस्तै, प्रहरी टोलीले मौराटार–२ बाट गाँजा दाई गर्न प्रयोग हुने मेशिन १ थान र गाँजा ४ सय ५० किलो पनि बरामद गरेको छ ।

प्रतिक्रिया