मजदुर संगठनको पुच्छरमा ‘स्वतन्त्र’ जोडियो

काठमाडौं, ११ पुस । चरम आन्तरिक विवाद पछि कांग्रेस निकट मजदुर संगठन ‘नेपाल ट्रेड यूनियन कांग्रेस’ले पुरानै नामलाई सदर गरेको छ ।
काठमाडौंमा आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्र’ राख्ने निर्णय गरेको मध्य पश्चिमाञ्चलका अध्यक्ष एवं केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बमबहादुर डिसीले जानकारी दिए । ‘पहिलाकै नामलाई सदर गरेका छौं,’ उनले भने, ‘ट्रेड युनियन कांग्रेसको नामको पछाडिको ‘स्वतन्त्र’ शब्द हटाउने अघिल्लो निर्णय यस पटक पुनः बदर भएको छ ।’
अघिल्लो पटक बसेको बैठकले बहुमतको निर्णयबाट पुच्छारमा रहेको ‘स्वतन्त्र’ शब्द हटाएको थियो । ‘स्वतन्त्र’ शब्द हटाउने निर्णयको मजदुर नेता खिलानाथ दाहालको समूहले विरोध गर्दै आएको थियो ।
यस अघि नामको पुच्छारमा रहेको ‘स्वतन्त्र’ शब्द हटाउने निर्णयको १७ जना पदाधिकारी एवं सदस्यले असहमति राखेका थिए । संस्थापन पक्ष अर्थात अध्यक्ष लक्ष्मण बस्नेत समूह पुच्छारको ‘स्वतन्त्र’ शब्द हटाउन सक्रिय रहेको छ । नेता शेरबहादुर देउवा समर्थकहरु भने ‘स्वतन्त्र’ शब्द राख्नै पर्ने अडानमा रहे पछि विवाद हुँदै आएको थियो ।
बैठकले पाँचौं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । आन्तरिक विवाद र तयार नपुगे पछि ट्रेड युनियन कांग्रेसले चैतका लागि तोकेको महाधिवेशन २०७० साल जेठको ११, १२ र १३ गते निर्णय गरेको छ ।
केन्द्रीय महाधिवेशन अगाडि चैत मिहना सम्म आवद्ध संघ, क्षेत्र र जिल्ला समितिको अधिवेशन सम्पन्न गरेर प्रतिनिधिको नामावली केन्द्रमा पठाउन पनि बैठकले निर्देश गरेको छ ।

प्रतिक्रिया