एक्ला सेलेब्रिटीको आयु कम

भनिन्छ, ‘एक्लोपन मान्छेको शत्रु हो ।’ एक्लोपनले मान्छेलाई भित्रभित्रै खान्छ, सायद जीवनको छिटो अन्त्यको
कारण पनि एक्लोपन हो । यो भनाइ एकल सेलेब्रिटीहरूको जीवनमा पनि मेल खाएको छ ।
भर्खरै गरिएको एक अध्ययनले एकल कलाकारहरू ब्यान्डमा रहनेहरूभन्दा चाँडो मृत्युको सिकार हुन्छन् भन्ने पत्ता लगाएको हो । मान्छे दिनदिनै सफल भएर मात्रै पनि सुखी नहुने रहेछ, सामाजिक सम्बन्धहरूको अभाव हुने हो भने । साथ र सम्बन्धले मान्छेको जीवन लम्ब्याउने रहेछ । बीएमजे पत्रिकाले लामो अध्ययनपछि यो तथ्य पत्ता लगाएको हो । पत्रिकाको तथ्यलाई विविसीले उल्लेख गरेअनुसार दर्शकश्रोताका सामु चर्चाको शिखरमा रहे पनि एक्लै गाउने कलाकार समूहमा गाउने कलाकारको तुलनामा छिट्टै मृत्युको सिकार हुन्छन् ।
ब्यान्डका कलाकारहरू समूहमा हुन्छन् तर एकल कलाकार नितान्त एक्लो । उसका व्यक्तिगत भावनाहरू बाँड्ने मान्छे नजिक हुँदैन । न त साथीभाई, आफन्त साथमा हुन्छन् । युरोप र उत्तरी अमेरिकाका एक हजार चार सय रक स्टार एवं पपस्टारको गायकी करियरमा गरिएको अध्ययनपछि पत्रिकाले यस्तो निष्कर्ष निकालेको हो । पत्रिकाले सन् १९५६ देखि २००६ सम्मका चर्चित र नाम चलेका कलाकारलाई अध्ययनमा समेटेको छ ।
प्रत्येक १० जनामा एक कलाकारको मृत्यु एक्लोपनका कारण हुने अध्ययनले देखाएको छ । त्यसमा पनि उत्तर अमेरिकामा प्रत्येक पाँचमा एक जना एकल कलाकारको मृत्यु समूहमा गाउनेको भन्दा चाँडै भएको छ । लामो समय लगाएर गरिएको अध्ययनले एक सय ३७ एकल कलाकारको मृत्यु कमै उमेरमा भएको देखाएको छ । पत्रिकाले सन् २०१२ फेब्रुअरीमा अध्ययन सकाएको थियो ।
चाँडो मर्ने कलाकारमा चर्चित गायक माइकल ज्याक्सनको नाम पनि छ । परिवार भए पनि उनी बाल्यकालदेखि नै एक्लोपनले ग्रस्त थिए । स्टेजमा बाहेक अन्य बेला एक्लै रहन्थे । एल्भिस प्रिस्ले, जिमी हेड्रिक्स, एमी वाइनहाउस, र्‍यापर टू पेकलगायत गायन सेलेब्रेटीको नाम पनि यो सूचीमा परेको छ । उनीहरूको मृत्यु औसत ३९ वर्षभन्दा कम उमेरमा नै भएको थियो ।
‘एकल कलाकार अधिकांश समय एक्लोपनको सिकार हुन्छन्’, अध्ययनमा सहभागी लेगकास्टर जेम्सले भने– ‘उनीहरूले पेशागत जीवन मात्रै बनाएका हुन्छन् तर सामाजिक सम्बन्धको विकासमा कमजोर रहन्छन् । त्यही एकांगी व्यवहारले उनीहरूलाई चाँडै मृत्युको मुखमा पुर्‍याउँछ ।’ उनले परिवार, साथीभाइको साथमा नरहने सेलेब्रेटीहरूमा बढ्दै गएको कुण्ठाले आफ्नै जीवनप्रति उपेक्षाको भाव जाग्दै जानेसमेत बताएका छन् । एकल सेलेब्रेटीमध्ये पनि गोराहरूको तुलनामा काला मानिसको अझ छिटो मृत्यु हुने सम्भावना अध्ययनले औँल्याएको छ । बाल्यकालमा राम्रो पारिवारिक वातावरण नपाएका सेलेब्रेटीहरूले सांगीतिक करियरमा भने सफलता हासिल गरेका उदाहरण थुप्रै भेटिएका छन् । यद्यपि, उनीहरू एक्लोपन हटाउने साथीका रूपमा नशा वा दुव्र्यसनीको सिकार हुन्छन् । परिणाम– मृत्युले चाँडो तान्छ । बाल्यकालमा उपेक्षित भएकाहरू संगीतमा लागेपछि पैसा र चर्चा दुबै पाउँछन् । यसले उनीहरू थप अव्यावहारिक हुन थाल्छन् । गायकी वा कलाकारितामा राम्रो पकड भएपनि आफ्नै व्यवहारका कारण उनीहरू चाँडो मृत्युको मुखमा पुग्छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया