कोइरालालाई प्रधानमन्त्री बनाउन आन्दोलनको हुंकार

काठमाडौं, ११ पुस । कांग्रेस क्षेत्रीय सभापतिको भेलाले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पदच्युत गरी पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनाउन सशक्त आन्दोलन गर्नुपर्ने सुझाव दिएको छ ।

थलीमा मंगलबारसम्म चलेको २४० क्षेत्रका पार्टी सभापतिको भेलाले चारबुँदे थली घोषणापत्र जारी गरी कोइरालालाई प्रधानमन्त्री बनाई वैशाखभित्रै चुनाव गर्न सशक्त आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको हो । वर्तमान सरकार र एमाओवादीको सर्वसत्तावादी सोचका कारण मुलुक राजनीतिक तथा संवैधानिक जटिलतामा जकडिएको ठहर भेलाले गरेको छ ।
सरकार र एमाओवादीका कारण मुलुक राजनीतिक र संवैधानिक जटिलतामा जकडिएकाले तत्काल सरकारलाई पदच्युत गर्नुपर्ने थली घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा भनिएको छ, ‘कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी आगामी वैशाखभित्र निर्वाचन गर्न सशक्त आन्दोलन गर्न आह्वान गर्दछौँ ।’
वैशाखमा संविधानसभासँगै स्थानीय चुनाव गराउनुपर्ने सुझाव पनि भेलाले नेतृत्वलाई दिएको छ । कांग्रेस नेतृत्वमा आगामी वैशाखभित्र स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नुपर्ने माग पनि भेलाले गरेको छ ।
गरिबी, बेरोजगारीलगायत समस्यालाई कम गर्न सशक्त कदम चाल्न पनि भेलाले माग गरेको छ । पार्टीका सबै निकायलाई सहभागी गराई आयआर्जन र पूर्वाधार निर्माणका कार्यक्रम अघि बढाउने प्रस्ताव भेलाले पारित गरेको छ । साथै, ‘पोषणका लागि खेती स्वस्थ र समृद्ध जीवनको प्राण, घरघरमा करेसाबारी बिपी उद्यान हाम्रो अभियान’ भन्ने नाराका साथ कृषि प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने घोषणासमेत गरिएको छ ।
प्रधानमन्त्री बन्न सर्त मानिन्न : कोइराला
कांग्रेस सभापति कोइरालाले प्रधानमन्त्री पदका लागि आफ्नो आदर्श दाउमा नराख्ने बताएका छन् । क्षेत्रीय सभापतिको भेला समापनमा कोइरालाले प्रधानमन्त्री पदकै लागि आफ्नो जीवनभरको राजनीतिक आदर्शलाई दाउमा नराख्ने बताएका हुन् । एमाओवादी र सरकारका कुनै पनि सर्तमा घुँडा नटेक्ने उल्लेख गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्री मेरा लागि ठूलो होइन ।’
वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले कुनै पनि हालतमा वर्तमान सरकारमा सहभागी नहुने बताए । यो वा त्यो कुनै पनि बहानामा एमाओवादी र सरकारसामु घुँडा टेक्न नहुने नेता देउवाको भनाइ थियो ।

प्रतिक्रिया