ढकालले किन माफी मागे ?

काठमाडौं, १० पुस । गरिबी निवारण मन्त्रीसमेत रहेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सत्तारूढ गठबन्धनको बैठकमा दुई हात जोडेर माफी माग्नुपरेको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको नीति र प्रावधानविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै साना दलले आलोचना गरेपछि ढकालले माफी माग्नुपरेको हो ।
आइतबार बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा साना दलले मन्त्री ढकालको गैरजिम्मेवारीपनका कारण समस्या आएको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै मन्त्री ढकाल आफू बसेको कुर्सीबाट जुरुक्क उठेर ‘गल्ती भयो, अबदेखि जथाभावी बोल्दिनँ’ भन्दै माफी मागेको स्रोतले बतायो ।
‘मेरो पार्टीको धारणाअनुसार बोलेको हुँ,’ ढकाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आइन्दा गठबन्धनलाई नै असर पर्नेगरी बोल्ने छैन ।’ मन्त्री ढकालले उपराष्ट्रपति परमानन्द झालाई राष्ट्रिय सहमतीय सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि उनको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर सहमति बन्छ भने उपराष्ट्रपति झालाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव गरेको भन्दै उनले सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति
दिएका थिए ।
मन्त्री पदमा रहेका बेला क्रिस्चियन धर्मको प्रचार–प्रसार गरेको आरोप खेप्दै आएका ढकाललाई साना दलले गठबन्धनको बैठकमा मन्त्री पदबाट हटाउनसमेत माग गरेका थिए । परिवार नियोजनका अस्थायी साधनको प्रयोगको चर्को विरोधी ढकालले क्रिस्चियन धर्म प्रचारमा पार्टीलाई लगाएको भन्दै उनको पार्टी विभाजनसमेत भइसकेको छ ।
मन्त्री ढकालको चर्को विरोध गर्नेमा दलित, जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता दल युनाईटेड, नेपाल लोकतान्त्रिक समाजवादी दल, चुरेभावर राष्ट्रिय एकता पार्टीलगायत रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया