शीतलनिवासमा भतेर खाएर फर्के ३२ दल

काठमाडौं, १० पुस । राष्ट्रपति डा. रामवरण यादवले पहिलोचोटि बोलाएको सर्वदलीय बैठक उपलब्धिहीन बनेको छ । राजनीतिक निकासको खोजी गर्न सोमबार बिहान शीतलनिवास पुगेका ३२ दलका नेताले राष्ट्रपतिको एकतर्फी ‘प्रवचन’ सुने र मासुभात खाएर फर्के ।

छलफल कार्यक्रम भनिए पनि राष्ट्रपतिले दलका नेताहरूलाई बोल्न अनुमति दिएनन् । केही नेताले बोल्न खोज्दा ‘कृपया भात खाएर जानुहोला’ भन्दै राष्ट्रपति हिँडेका थिए । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबाहेक सबै नेता विभिन्न परिकारका भोजन ग्रहण गरेर मुख मिठ्याउँदै शीतलनिवासबाट निस्के ।
आफ्नो एकतर्फी भाषणका क्रममा राष्ट्रपति डा. यादवले राष्ट्रिय सहमति जुटाउन सक्ने जो–कोही व्यक्ति प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । उनले ६ बुँदे लिखित भाषण वाचन गर्नुका साथै त्योभन्दा बाहिर गएर पनि बोलेका थिए ।
‘सुशीलजी, प्रचण्डजी वा अन्य कुनै व्यक्तिले सहमति जुटाएर आउँछ भने प्रधानमन्त्री बनाउन कुनै आपत्ति छैन,’ उनले भने, ‘राष्ट्रिय सहमति जुटाउन सक्ने जो पनि प्रधानमन्त्री बन्न सक्छ ।’ दलहरूले गर्ने निर्णय र सुझावका आधारमा आफू जसलाई पनि प्रधानमन्त्री बनाउन तयार रहेको यादवले दोहोर्‍याए ।
मुलुकलाई निकास दिन संवैधानिक, कानुनी र राजनीतिक उपाय आवश्यक रहेको भन्दै उनले आपसी विमर्शबाट उपाय पहिल्याउन दबाब दिएका थिए । सहमतीय आधारमा नयाँ निर्वाचन गराउन संविधानको धारा ३८ को उपधारा १ अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् गठनबारे ध्यान दिन डा. यादवले दलहरूको ध्यानाकर्षण गराए । संवैधानिक निकाय तथा सर्वोच्च अदालतमा पदाधिकारी, न्यायाधीश नियुक्ति, संवैधानिक, राजनीतिक गतिरोधको अन्त्यका निम्ति राष्ट्रपतिले अवलम्बन गर्नुपर्ने वा गर्नसक्ने अन्य कुनै लोकतान्त्रिक सिद्धान्त, प्रचलन वा उपायबारे जानकारी गराउन पनि डा. यादवले दलहरूसँग आग्रह गरेका छन् ।
राष्ट्रपतिले बोलिसकेपछि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे कुर्सीबाट उठेर बोल्न खोजेका थिए । दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले सर्वदलीय बैठकमा बोल्न पाउनुपर्ने माग गरे पनि राष्ट्रपतिले दिएनन् ।
‘आज म मात्रै बोल्छु, तपाईंहरू सुन्नुस्,’ डा. यादवले भने, ‘आज म कसैको कुरा सुन्दिनँ, माफ गर्नुहोला ।’
नेकपा–माओवादीद्वारा बहिष्कार
राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय बैठक नेकपा–माओवादीले बहिष्कार गरेको छ । राजनीतिक निर्णयमा राष्ट्रपतिले आफूहरूलाई महत्त्व नदिने गरेकाले सर्वदलीय बैठक बहिष्कार गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले भनिन्, ‘राष्ट्रिय राजनीतिमा महत्त्व राख्ने निर्णय गर्दा नबोलाउने, तर साना दलसरह अहिले बोलाउँदा अपमान गरेको ठानेर गएनौँ ।’
बैठकमा राष्ट्रपति डा. यादवले ठट्यौली पारामा ‘नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यजीहरूलाई त देखिनँ, कतै अप्ठ्यारो हुने त होइन ?’ भनेर आशंका जनाएका थिए ।
शीतलनिवासको खानपिन
राष्ट्रपतिसँगको भेटलगत्तै नेताहरूले शीतलनिवासमा दह्रो खानपिन गरे । राष्ट्रपति डा. यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायत सबैले खाना खाएका थिए । मटन ग्रेभी, कुखुराको रोस्ट, काउली र आलुको तरकारी, दाल, रोटी, अचार, सलाद, सागलगायत परिकार खानामा राखिएका थिए । खाना खाइसकेपछि नेताहरूले दही र जुलेबीसहित मुख मीठो पारेर बाहिरिएका थिए ।
ठूला दलका नेताहरूले खसीको मासु र भात खाए पनि तराई–मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुरले भने खाना खाएनन् । उनले किन खाना नखाएका हुन्, ठाकुरका सहयोगीहरूले केही बताउन मानेनन् । मासुभातको प्रबन्ध अनमोल क्याटरिङका सञ्चालक बिएल शर्माले गरेका थिए ।
प्रमुख दलका ठूला नेताहरूलाई खाना खान लाइनमा बस्नु परेन । यद्यपि, साना दलका नेताहरूले भने लाइनमा बसेरै खाएका हुन् । नेताहरूलाई बैठकमा बोलाउँदा राष्ट्रपति कार्यालयले चिया–नास्ताको व्यवस्था रहेको सूचना गरेको एक सहभागीले जनाए ।
छैटौँपटक म्याद
राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री चयनमा सहमति जुटाउनका लागि छैटौँपटक पनि म्याद थप गरेका छन् । विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग सोमबार छलफल गरेपछि राष्ट्रपति यादवले ५ दिन समय थपेर १४ पुससम्म सहमति जुटाउन दलहरूलाई आह्वान गरे ।
ढकालले किन माफी मागे ?
काठमाडौं, ९ पुस । गरिबी निवारण मन्त्रीसमेत रहेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सत्तारूढ गठबन्धनको बैठकमा दुई हात जोडेर माफी माग्नुपरेको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको नीति र प्रावधानविपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै साना दलले आलोचना गरेपछि ढकालले माफी माग्नुपरेको हो ।
आइतबार बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा साना दलले मन्त्री ढकालको गैरजिम्मेवारीपनका कारण समस्या आएको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै मन्त्री ढकाल आफू बसेको कुर्सीबाट जुरुक्क उठेर ‘गल्ती भयो, अबदेखि जथाभावी बोल्दिनँ’ भन्दै माफी मागेको स्रोतले बतायो ।
‘मेरो पार्टीको धारणाअनुसार बोलेको हुँ,’ ढकाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आइन्दा गठबन्धनलाई नै असर पर्नेगरी बोल्ने छैन ।’ मन्त्री ढकालले उपराष्ट्रपति परमानन्द झालाई राष्ट्रिय सहमतीय सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि उनको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर सहमति बन्छ भने उपराष्ट्रपति झालाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव गरेको भन्दै उनले सार्वजनिक सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए ।
मन्त्री पदमा रहेका बेला क्रिस्चियन धर्मको प्रचार–प्रसार गरेको आरोप खेप्दै आएका ढकाललाई साना दलले गठबन्धनको बैठकमा मन्त्री पदबाट हटाउनसमेत माग गरेका थिए । परिवार नियोजनका अस्थायी साधनको प्रयोगको चर्को विरोधी ढकालले क्रिस्चियन धर्म प्रचारमा पार्टीलाई लगाएको भन्दै उनको पार्टी विभाजनसमेत भइसकेको छ ।
मन्त्री ढकालको चर्को विरोध गर्नेमा दलित, जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता दल युनाईटेड, नेपाल लोकतान्त्रिक समाजवादी दल, चुरेभावर राष्ट्रिय एकता पार्टीलगायत रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया