राष्ट्रपतिको भारत भ्रमण असान्दर्भिक

काठमाडौं, ९ पुस । नेकपा–माओवादीले राष्ट्रपति डा.रामवरण यादवको भारत भ्रमणलाई असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण रहेको टिप्पणी गरेको छ ।
प्रवक्ता पम्फा भुसालले आज विज्ञप्ति जारी गरेर देशमा राजनीतिक सङ्कट र अन्योलता रहेका बेला राष्ट्रपतिको भारत भ्रमण असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण हुन पुगेको जनाएकी छन् ।
‘नेपाली जनताले नेपालको दैनिक राजनीतिमा समेत भारतीय शासक वर्गको हस्तक्षेप महसुस गरिरहेको बेला यो भ्रमण सन्देहपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।
त्यसै गरेर नेकपा–माओवादीले राजनीतिक प्रक्रियाको समीक्षा नगरी राष्ट्रपतिले तीन दलहरु र मधेसी मोर्चाका शीर्ष नेताहरुबाट राजनीतिक सङ्कटको निकास निकाल्ने प्रयास गरेको भन्दै असहमति जनाएको छ ।
‘तीन दल र मधेसी मोर्चाका असफल शीर्ष नेताहरुबाट सही निर्णय निस्कन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तिनीहरुको निश्कर्ष राष्ट्रिय सहमति हुँन सक्दैन ।’

प्रतिक्रिया