सत्तारुढ गठबन्धनमा खटपट

काठमाडौं : सहमतीय सरकार गठनबारे सत्तारुढ दलभित्र मतभेद देखिएको छ । आइतबार बसेको सत्तारुढ मोर्चा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’को बैठकले मतभेदकै कारण कुनै निर्णय गर्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान र बेलुका गरी दुईपटक बसेको बैठकमा नेताहरूबीच सहमतीय सरकार र दलहरूबीच भइरहेको छलफल तथा उनीहरूका सर्तबारे कुरा बाँझिएपछि बैठक निष्कर्षविहीन टुंगिएको हो । बिहान कुरा नमिलेपछि साँझसम्मका लागि बैठक स्थगन गरिएको थियो । बेलुकाको बैठक पनि निष्कर्षविहीन बन्न पुगेपछि सोमबार बस्ने भएको छ ।
गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बैठकमा एमाओवादी र मधेसी मोर्चाका प्रस्तावमा छलफल भएको बताए । प्रवक्ता सिंहका अनुसार मोर्चाका नेताहरूले बोल्ने क्रम नसकिएकाले सोमबार बस्ने गरी बैठक स्थगन गरिएको हो ।
गठबन्धनका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बैठकमा राष्ट्रिय सहमतिका लागि दायरा फराकिलो पार्नुपर्ने प्रस्ताव गरेका थिए । एक नेताका अनुसार दाहालले दलहरूसँग भएको वार्ताबारे जानकारी गराउँदै ‘कांग्रेस–एमालेले वर्तमान सरकारमा कुनै पनि हालतमा नआउने भनेकाले गठबन्धनले दायरा फराकिलो पार्ने कि भन्ने अवस्था सिर्जना भएको छ’ भनेका थिए । उनले कांग्रेस र एमालेलाई मनाउन नसकिएको भन्दै आगामी दिनमा उनीहरूसँग कसरी प्रस्तुत हुने भन्ने विषयमा राय मागेका थिए । उनले सोमबार बिहान राष्ट्रपतिसँग हुने छलफलमा कसरी प्रस्तुत हुने तथा अन्य साना दलका विचारलाई कसरी समेट्न सकिन्छ भन्नेबारे पनि धारणा राखेका थिए ।
मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले भने वर्तमान सरकारको विकल्प खोज्न नसकिने अडान लिएका थिए । उनको भनाइ थियो, ‘बाबुरामजीको नेतृत्वमा सहमतीय सरकार गठन हुन सक्दैन भने विकल्पमा सत्तारुढ दलबाटै नयाँ प्रधानमन्त्रीको नाम प्रस्ताव गर्नुपर्छ ।’
स्रोतका अनुसार मोर्चाका नेताहरूले एमाओवादीमा फुट आएकाले केही समस्या देखिएको भन्दै सबैभन्दा बढी एमाओवादीबाट अलग भएर गएको समूहलाई मनाउनुपर्ने तर्क गरेका थिए । (सौस)

प्रतिक्रिया