युरोपमा जुत्ता, भारतमा साडी

सपिङमा उस्तो सोखिन होइन म । तैपनि समयअनुसारका कपडा लगाउनुपर्छ भन्ने मान्यता राख्छु । पहिरनले पनि व्यक्तिको पहिचान दर्साइरहेको हुन्छ । त्यसैले सकेसम्म मिलाएरै कपडा लगाउने प्रयास गर्छु ।
पछिल्लो समय व्यस्तताका कारण किनेर राखेका सादा कपडा सिलाएर लगाउने फुर्सद पनि पाइराखेकी छैन । मलाई कुर्तासुरुवाल लगाउन सजिलो लाग्छ तैपनि बढीचाहिँ साडी नै लगाइराखेकी हुन्छु । किनकि, औपचारिक कार्यक्रमहरूमा साडी नै लगाउनु उपयुक्त लाग्छ ।
सपिङका लागि भनेर त्यस्तो कुनै विशेष ठाउँ छुट्याएकी छैन । साडीचाहिँ प्राय: इन्डिया र बंगलादेशबाट ल्याउँछु । मलाई मिल्ने साइज जताततै पाउन गाह्रो हुने भएकाले त्यहाँ पुगेका बेला एकैचोटि चार–पाँच जोर बोकेर आउँछु । विराटनगर, जोगबनी, नेपालगन्जलगायत सहरमा पुगेका बेला पनि किनेर ल्याउँछु । खानेकुराचाहिँ काठमाडौंमा पनि किनिन्छ ।
धेरै खर्चिली छैन म । महिनाको पाँचदेखि दश हजार रुपियाँले घरायसी खर्च धान्छ । पति र छोरा घरमा नभएकाले अहिले त त्यति पनि लाग्दैन । पहिला ठूलो परिवार हुँदाचाहिँ महिनामा ३० हजार पनि भेट्थ्यो । चामल, तेल र दाललगायतचाहिँ पतिले काठमाडौं बाहिरबाटै ल्याउनुहुन्छ ।
काठमाडौंमा केही किन्न परेको खण्डमा भाटभटेनी र नमस्ते सुपरमार्केट जस्ता डिपार्टमेन्टल स्टोरतिर जान्छु । खुद्रा पसलतिर पनि नगएकी होइन तर त्यहाँका सामानमा मिसावट पाएँ । खुद्रापसलेहरूले गुणस्तरमा ख्याल गरिदिएको भए म त्यहीँ जान्थेँ होला । डिपार्टमेन्टल स्टोरहरूमा केही महँगो पनि त हुन्छ नि † बार्गेनिङ मज्जाले गर्छु । किनकि वास्तविकभन्दा निकै मूल्य बढाएर भन्नु पसलेहरूको बानी नै भइसकेको छ । तर, बार्गेनिङ भन्दैमा पसलेलाई घाटा नै लगाउने मनस्थिति भने मेरो होइन । पसलेलाई पीडित बनाएर होइन, कन्भिन्स गराएर केही पैसा घटाउने मात्रै हो ।
पतिका कपडा पनि प्राय: मै किनिदिन्छु किनकि उहाँ कामका सिलसिलामा बढीजसो काठमाडांैबाहिरै रहनुहुन्छ । छोरा अहिले अमेरिकामा छ । सानो छँदा उसका कपडा पनि मैले नै छानिदिने गरेकी थिएँ । अहिले उसको रुचिका रङ र स्टाइलहरू फरक हुँदै गएका छन् । बार्गेनिङ गर्न सिकोस् अनि आफूलाई मन लागेको किनोस् भनेर सकेसम्म उसलाई एक्लै सपिङमा पठाउन खोज्छु, तैपनि म नगई हुँदै नहुने । चार वर्षयताचाहिँ उनीहरू कसैको सपिङमा पहिलेजस्ता समय दिन पाएकी छैन ।
शृंगारमा त झन् निक्कै कम खर्च गर्छु । जहाँ जाँदा पनि मैले अनिवार्य लगाउने भनेको कलेजी टिकुली मात्रै हो । छालाको हेरचाहका लागि एउटा क्लिनिक ब्रान्डको क्रिम लगाउँछु, त्यत्ति हो ।
मसँग भएको सबैभन्दा महँगो कपडा भनेको पाँच हजार रुपियाँको एउटा साडी हो । २१ हजार हालेको मोबाइल हराएपछि अहिले ५२ सयको किनेकी छु । त्यस्तै १५ सयदेखि ३ हजार रुपियाँसम्मका ब्याग अनि जुत्ताहरू छन् । अहिले नेपालमा धेरै पत्थरका बुट्टा भएका, पछिल्लो पुस्ताले मात्रै लगाउने खालका जुत्ता मात्र भएकाले म प्राय: बाहिरबाटै ल्याउँछु । कहिलेकाहीँ आवश्यक सामान यहाँको बजारमा जत्ति खोज्दा पनि पाइँदैन । पाए पनि बल्ल एक ठाउँमा भेटिन्छ, महँगोमा परिहालिन्छ ।
अहिलेसम्म २२ पटक विदेश पुगेकी छु । तर, सपिङ उति धेरै गरेकी छैन । जम्मा हजार डलरसम्मको सपिङ गरियो होला विदेशमा । त्यहाँ पनि किन्ने भनेको कुर्ता, तन्ना, लुगाहरू नै हो । उपहारका लागि कम किन्छु । गिफ्ट मन नपराउनेहरू पनि छन्, त्यसैले अहिले त एक–दुई जनालाई मात्र ल्याइदिन्छु । पहिले एकैचोटि धेरै सामान किन्दा एयरपोर्टमा समस्या बेहोर्नुपरेकाले पनि अहिले अलि सजग हुन्छु । तर, बुबालाई चाहिँ अनिवार्य केही ल्याइदिएकै हुन्छु । मेरो प्रगति, कमाइमा बुबाको पनि हक छ भन्ने लाग्छ । १२ वर्षअघि स्विडेनबाट पति र बुबालाई स्विस घडी ल्याइदिएकी थिएँ । उहाँले त हराइसक्नुभयो, बुबाले चाहिँ लाइरहनुभएको छ ।
नेपाली र विदेशी बजारबीच गुणस्तरमै फरक देख्छु । विदेशमा महँगो परे पनि गुणस्तरमा ढुक्क हुन सकिन्छ । ब्याग र जुत्ताका लागि युरोपका बजार मन परे मलाई । सबैभन्दा महँगा सहरचाहिँ टर्की र जोर्डन लागे । एउटै सामान पनि तीन–चार सय डलरभन्दा माथिका ।
फुटपाथमा सामान किन्न छोडेको धेरै भयो । पहिला ठूलो परिवार हुँदा त किनिन्थ्यो । अहिले त समय नै हुँदैन । घरमा सहयोग गर्ने एक जना बहिनी छन् । उनलाई पनि आफूलाई किन्दा नै ल्याइदिन्छु । अझै महँगा सामान पनि किन्न नसकिने होइन तर हामी समाज रूपान्तरणको अभियानमा लागेकाहरूले अनावश्यक तडकभडक गर्नु ठीक होइन । हाम्रा व्यवहार अरूले पनि नियालिरहेका हुन्छन् नि †
विदेश पुगेका बेला कतिपय साथीको ध्यानचाहिँ सपिङतिर मात्रै हुन्छ । मलाई त्यो चित्तै बुझ्दैन । त्यसमाथि एनजिओका मान्छेहरूसँग निकै पैसा हुन्छ, त्यसैले हावामा उडाउँछन् भन्ने भ्रम छ जताततै । हुन त उनीहरूले आफ्नै पैसाले किन्ने हुन् तर पनि एनजिओको पैसामा फुर्ती गरेजस्तो ठानिदिन्छन् अरूले ।
साउथ एसियाका प्राय: कार्यक्रममा साडी नै लगाउँछु । अरू देशका मानिसले कहिलेकाहीँ सोच्छन्– ‘इन्डियाको र तिमीहरूको नेसनल ड्ेरस एउटै हो, साडी ?’ त्यति बेला नेपाली गुन्यूचोलो सम्झँदै साडी नै हो भनिदिन्छु । तर, मेरो नेसनल ड्रेस योचाहिँ हो भन्दै गुन्यूचोलीमा सजिएर विदेशी कार्यक्रममा पुग्न मन छ मलाई ।
प्रस्तुति : टीका विष्ट

प्रतिक्रिया