होटलमा बन्धक बनाएर यौनशोषण

नेपालगन्ज, ६ पुस । बागेश्वरी–९ की एक किशोरीले छिमेकीले होटलमा बन्धक बनाएर ११ दिनसम्म यौनशोषण गरेको आरोप लगाएकी छन् । उनले छिमेकी रवीन्द्र शाहीले ११ दिनसम्म यौनशोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी छन् । उजुरीपछि प्रहरीले शाहीलाई पक्राउ गरेको छ ।

१३ वर्षीय किशोरीले आफूसँगै अर्की साथीलाई ललाइफकाइ शाही र वनकटुवा–२ पिडारीका २८ वर्षीय चन्द्रकेश थारूले नेपालगन्ज, कोहलपुर र बर्दियाको मोतीपुरको होटलमा ११ दिनसम्म राखेर यौनशोषण गरेको प्रहरीलाई बताएकी छन् ।
प्रहरीले फुलटेक्राबाट शाहीलाई पक्राउ गरेको छ । थारू भने फरार छन् । यौनशोषणमा परेकी भनिएकी अर्की किशोरी पनि बेपत्ता छन् । उनका परिवारले छोरीलाई थारूले नै बेपत्ता
पारेको आरोप लगाएका छन् । दुवै बालिकालाई उनीहरूले २१ मंसिरमा गौघाटबाट मोटरसाइकलमा घुम्ने भन्दै नेपालगन्ज ल्याएका थिए । घुम्दै उनीहरू दिउँसो ३ बजे राप्ती नदी पुल हेर्न पुगेका थिए । उजुरीकर्ता किशोरीले घटनाबारे जानकारी दिँदै भनिन्, ‘र साँझ साढे ८ बजे नेपालगन्ज धम्बोजीको एक होटलमा ल्याए ।’
किशोरीका अनुसार नेपालगन्जसम्म आउँदा रात परेको र घरमा जान नसकिने भन्दै दुवै युवकले होटलमा बस्न बाध्य बनाएका थिए । ‘छिमेकी दाइ हौँ, सँगै सुत्दा फरक पर्दैन भने,’ किशोरीले भनिन्, ‘उनीहरूकै विश्वासमा भर परेर होटलमा बस्न बाध्य भइयो । तर, राति शाही र थारूले मुख थुनेर जबर्जस्ती गरे ।’
होटलमा यौनशोषण गरेपछि पनि उनीहरूले विभिन्न ठाउँमा लगेर यौनशोषण गरेको किशोरीको दाबी छ । दुवैको मोबाइल उनीहरूले कब्जामा लिएको उनको दाबी छ । ‘घटनाबारे कसैलाई बताए भारतमा जबर्जस्ती लगेर बिक्री गर्ने धम्की दिँदै आएका थिए,’ किशोरीले भनिन्, ‘उनीहरूले भनेको ठाउँमा जान बाध्य पार्थे ।’
किशोरीले धम्बोजीको एक होटल, कोहलपुर–८ लखनहा र बर्दियाको मोतीपुर–३ मा बन्धक बनाएर यौनशोषण भएको बताएकी छन् । बन्धकपछि शाही र थारूले २७ मंसिरमा पीडित बालिकाका आफन्तलाई समेत धम्की दिएका थिए । उनीहरूले यो कुरा बाहिर सुनाए र कतै उजुरी गरे भारतमा लगेर बेचिदिने धम्की दिँदै आएको पीडित परिवारले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसन्धान अधिकृत शिवबहादुर सिंहले १३ वर्षीय किशोरीले आफूमाथि यौनशोषण गरेको भन्दै उजुरी दिएको र त्यसको अनुसन्धान भइरहेको बताए ।
‘किशोरीले आफूलाई भारतमा बेचबिखन गर्ने उद्देश्यले नेपालगन्ज ल्याएको र यौनशोषण गरेको भन्दै युवकविरुद्ध मानवबेचबिखन, यौनशोषण र शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।’ सिंहले भने, ‘अदालतबाट म्याद थप गरेर आरोपीमाथि अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया