दाङमा हिरासतबाटै महिला फरार

दाङ, ६ पुस । दाङको तल्सीपुरस्थित इलाका प्रहरी कार्यालयबाट हिरासतमा रहेकी एक महिला आज फरार भएकी छन् ।
ज्यान मुद्दा लागेकी फुलवारी–२ की २८ वर्षीया बालिका नेपाली शौचायल जाने भन्दै प्रहरीलाई झुक्काएर फरार भएकी हुन् । बालक हत्याको अभियोगमा फक्राउ परेकी बालिकालाई केही समय अगाडि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
आज बिहान साढे ५ बजे शौचालय गएकी उनी फर्केर नआएको प्रहरी निरीक्षक गणेश बिक्रम शाहले जानकारी दिए ।
फुलवारी–२, अम्वापुर निवासी ५ वर्षीया बालक अनुस ओलीलाई कात्तिक–२९ गते हत्या गरेको अभियोगमा बालिकालाई प्रहरीले पक्राउ गरेको थियो ।
दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले हिरासतबाट थुनुवा फरार हुने घटना गम्भीर रहेको बताए । उनले प्रहरीको लापर्वाहीका कारण बालिका फरार भएको स्वीकार गरे । डिउटीमा रहेका प्रहरीलाई कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।
बालक हत्याको अभियोगमा फूलवारीकै ३६ वर्षीया दीपेश नेपाली, १२ वर्षीया जगदीश नेपालीलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया