निगमको नोक्सानी ४१ करोड

काठमाडौं, ६ पुस । नेपाल आयल निगमको मासिक नोक्सानी ४० करोड ८५ लाख रुपियाँमा झरेको छ । भारतीय आयल निगम (आइओसी)ले १६ डिसेम्बरमा पठाएको मूल्य सूचीअनुसार निगमको नोक्सानीमा केही कमी आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र पेट्रोल, हवाई इन्धनमा भएको नाफाका कारण १५ दिनअघिको तुलनामा निगमको नोक्सानी केही घटेको हो । एक डिसेम्बरमा आइओसीले पठाएको मूल्यसूचीअनुसार निगमको घाटा ५२ करोड ८९ लाख थियो ।
निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर १२ रुपियाँ ४२ पैसा, मट्टीतेलमा ११ रुपियाँ ३७ पैसा, आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर २४ रुपियाँ ४९ पैसा र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा २९ रुपियाँ २२ पैसा नाफा रहेको छ । यसले अहिले पेट्रोलको कुल नाफा २१ करोड १४, मट्टीतेलको ४ करोड ५४ लाख, आन्तरिक हवाई इन्धनमा ७ करोड ३४ लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २० करोड ४५ लाख कुल नाफा रहेको निगमले जनाएको छ ।
तर, नयाँ मूल्यसूचीअनुसार एलपी ग्यास र डिजेलको नोक्सानीमा भने कमी आएको छैन । अहिले पनि एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा नोक्सानी रहेको जनाइएको छ । यसले ग्यासमा मात्र निगमको कुल नोक्सानी ७८ करोड ७९ लाख रुपियाँ पुगेको छ । यस्तै, डिजेलमा प्रतिलिटर २ रुपियाँ ३९ पैसा नोक्सानी छ भने कुल नोक्सानी १५ करोड ५३ लाख रुपियाँ रहेको निगमले जनाएको छ ।
यद्यपि, डिजेलमा भने १५ दिनअघिको नोक्सानीभन्दा अहिले केही कमी आएको जनाइएको छ । एक डिसेम्बरमा आइओसीले पठाएको मूल्यसूचीअनुसार डिजेलमा प्रतिलिटर ३ रुपियाँ ५२ पैसा घाटा थियो । त्यस्तै, सो अवधिमा कुल नोक्सानीसमेत २२ करोड ८८ लाख रुपियाँ थियो । यसले ग्यास र डिजेलमा भएको कुल नोक्सानीसमेत केही घटेको निगमले जनाएको छ । अहिले ग्यास र डिजेलमा ९४ करोड ३२ लाख रुपियाँ कुल नोक्सानी छ ।
१५ दिनअघिको मूल्यसूचीअनुसार एलपी ग्यास र डिजेलमा मात्र निगमलाई एक अर्ब एक करोड ६७ लाख रुपियाँ कुल नोक्सानी रहेको थियो । अन्तर्राष्ट्रिय बजारमूल्यअनुसार लागत खर्चभन्दा कम मूल्यमा बिक्री गर्नुपर्दा कुल नोक्सानी चुलिँदै गएको निगम अधिकारीको भनाइ छ । निगमका अनुसार अहिले एल्पी ग्यासको परल मूल्य प्रतिसिलिन्डर २ हजार एक सय २६ रुपियाँ ६३ पैसा छ । तर, काठमाडौंको बिक्रीमूल्य भने एक हजार ४ सय ७० रुपियाँ छ ।
निगमले सरकारी राजस्व, निगमको ऋणमा ब्याज खर्च, ढुवानी भाडा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, डिलर कमिसन र डिलर खर्च जोडेर ग्यासको परल मूल्य निर्धारण गर्ने गर्छ । अहिले रक्सोलमै ग्यासको खरिद मूल्य एक हजार ६ सय २७ रुपियाँ ४१ पैसा रहेको जनाएको छ । अन्तर्राट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि अघिल्लो महिना अर्थात् आइओसीले १६ नोभेम्बरमा पठाएको मूल्यसूचीअनुसार निगमको मासिक घाटा २० करोड ४२ लाख रुपियाँमा झरेको थियो । एक नोभेम्बरमा निगमको समग्र मासिक नोक्सानी ३१ करोड ४९ लाख रुपियाँ थियो ।

प्रतिक्रिया