एकैचोटि ६ हजार गहना लगाउने महिला

सबैलाई थाहा छ– प्राय: महिला गहनाका सोखिन हुन्छन् । अनि सोखिनभन्दा सोखिन महिलाले पनि बढीमा नाक, कान, घाँटी, हातखुट्टालगायत अंगमा मात्रै गहना सजाउँछन् । कसैकसैले कानमै थुप्रै प्वाल बनाएर ढुंग्री वा फुलीले भर्न सक्लान् । तर, कुनै महिलाले गहना लगाउनकै लागि आफ्नो शरीरमा हजारौँ प्वाल खोपेको सुने तपाईं विश्वास गर्नुहुन्छ ? हो, एक ब्राजिलियन नर्सको यो किस्सा सुरुमा सुन्ने सबैले विश्वास गर्दैनन् । जब उनलाई अगाडि देख्छन्, तब अचम्म मानेर जिब्रो टोक्न थाल्छन् । हुन पनि एलेन डेविडसन नामक यी महिलाको शरीरमा खाली भाग पाउनै मुस्किल छ, जहाँ गहना नझुन्डिएको होस् । गहना लगाउनकै लागि भनेर उनले शरीरमा ६ हजार ५ वटा प्वाल खोपेकी छन् । ती सबै प्वालमा मेटलका गहना खिपिएका छन् । अनुहारैभरि सयौँ मुन्द्री झिलझिलाइरहेका देखिन्छन् । एक्कासि यस्तो स्वरूप देख्दा धेरै त उनीसँग डराउँछन् । उनी आपैँm पनि स्वीकार्छिन्– ‘हो म सबैभन्दा डरलाग्दी महिला देखिन चाहन्छु, त्यसैले यति धेरै गहना लगाएकी हुँ ।’
हाल स्कटल्यान्डमा बस्दै आएकी डेविड्सनले सन् १९९७ मा दुई सय ८० स्थानमा गहना लगाएकी थिइन् । यो क्रमलाई विस्तारै बढाउँदै जाँदा सन् २००९ को फेबु्रअरीमा ६ हजार ५ वटा गहना लगाएर उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नामसमेत लेखाएकी छन् । उनले लगाएका गहनाको कुल वजन तीन किलोग्राम रहेको जनाइएको छ । शरीरको धेरै स्थानमा प्वाल बनाएर मेटल लगाएकाले उनलाई हेपाटाइटिस र एचआइभीको संक्रमणको जोखिम रहेको चिकित्सकहरू बताउँछन् । (एजेन्सी)

प्रतिक्रिया