दरमखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सुरु

बाग्लुङ, ५ पुस । विदेशमा रहेका नेपालीको लगानीमा बन्न लागेको दरमखोला ‘ए’ जलविद्युत्् आयोजनाको निर्माण कार्य सुरु भएको छ । दुई हजार ५०० किलोवाट क्षमताको उक्त आयोजनाको काम अघि बढेको आयोजना निर्माणको जिम्मा लिएको सयपत्री हाइड्रोपावर प्रालिले जनाएको छ ।

४६ करोडको लागतमा निर्माण हुनलागेको सो आयोजना निर्माण स्थलमा अहिले पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाका प्रमुख इन्जिनियर विकास श्रेष्ठले बताए । बाग्लुङको हिल र अर्गल गाविसमा बन्ने आयोजनाको सम्पूर्ण काम आउँदा दुई वर्षभित्रै सम्पन्न भइसक्ने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार आयोजना स्थलमा सडक, क्याम्प निर्माणका साथै निर्माणको काम भइरहेको र तत्कालै आयोजनाका अरू काम सुरु हुने छन् । कम्पनीले ०७१ सालको पुस महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
‘आयोजना निर्माणको काम तीव्र रूपमा अघि बढ्छ र निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुन्छ,’ इन्जिनियर श्रेष्ठले भने । कम्पनीले नेपाली प्रविधि र जनशक्तिको प्रयोग गर्ने जनाएको छ । हिल–२ को सादी भन्ने ठाउँमा डयाम र अर्गल–७ मा रहेको घुस्मेली भन्ने ठाउँमा विद्युत््गृह निर्माण हुने श्रेष्ठ बताउँछन् । बाँधबाट एक हजार सात सय ४५ मिटरको प्रेसर पाइप प्रयोग गरी दरमखोलाको पानीलाई विद्युत्गृहसम्म ल्याइने भएको छ । जिल्लाको गलकोट क्षेत्रबाट विदेश पुगेका व्यक्तिहरूले सो आयोजना निर्माणका लागि दुई करोड सेयर लगानी गरेका छन् ।
साथै, आयोजनास्थल अर्गल र हिल गाविसका स्थानीयवासीले एक करोड रुपियाँका दरले सेयर लगानी गर्ने तयारी भएको आयोजना निर्माणका लागि गठन भएको स्थानीय समन्वय समितिका सल्लाहकार सञ्जय श्रेष्ठले बताए । आयोजनामा १९ जनाको सेयर लगानी रहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । ‘विद्युत् प्राधिकरणसाग ३० वर्षका लागि सम्झौता भइसकेको छ,’ इन्जिनियर श्रेष्ठले भने, ‘जसअनुसार आयोजनाले वार्षिक आठ करोडको बिजुली प्राधिकरणलाई बेच्छ ।’ सम्झौताअनुसार हिउँदका चार महिनामा प्रतियुनिट आठ रुपियाँ ४० पैसा र त्यसबाहेक आठ महिनामा प्रतियुनिट चार रुपियाँ ८० पैसामा प्राधिकरणले बिजुली किन्नेछ । ‘यो आयोजना निर्माणपछि बाग्लुङमा लोडसेडिङ अन्त्य हुनेछ,’ इन्जिनियर श्रेष्ठले भने । दरमखोलाको पानीबाट विद्युत् निकाल्न लागेको सयपत्री हाइड्रोपावर प्रालिले आयोजना खोला र ठाउँ प्रयोगबापत हिल र अर्गल गाविसलाई यो वर्ष पाँच लाख रुपियाँका दरले सहयोग दिने सहमति जनाएको छ ।
त्यस्तै, निर्माणको दोस्रो वर्ष १०/१० लाख र आयोजना निर्माण सम्पन्न भइसकेपछि कुल मुनाफाको तीन प्रतिशत दुवै गाविसलाई प्रदान गर्ने सहमति भएको छ । आयोजना निर्माण सुरु भएपछि स्थानीय गाउँलेले पनि रोजगारीको अवसर पाउने आयोजना निर्माणका लागि गठित स्थानीय समन्वय समितिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
संरचना निर्माणका लागि चाहिने गिट्टी, बालुवाको काम स्थानीयवासीले गर्ने गरी काम अघि बढेको घर्तीले जानकारी दिए । स्थानीय बासिन्दा र विद्युत् आयोजनाबीच समन्वय कायम गर्न दुई गाविस मिलेर समन्वय समिति गठन गरेका हुन् । जिल्लाकै महत्त्वपूर्ण आयोजना ठानिएको दरमखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण भएपछि बाग्लुङ जिल्लाको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको पश्चिम क्षेत्र भएर बग्ने दरमखोलामा अन्य विभिन्न कम्पनीहरूले पनि आयोजना निर्माणको अनुमति लिएर काम अघि बढाएका छन् ।

प्रतिक्रिया