गाई पालेर मासिक दुई लाख

हेटौँडा, ४ पुस । गाई पालनबाट हेटौँडाका दुई युवाले मासिक दुई लाख रुपियाँ आम्दानी गर्दै आएका छन् । गाईफार्मबाट उत्पादित दुध बिक्रीबाट दुई लाख रुपियाँ आम्दानी हुने गरेको उनीहरूले बताए । हेटौँडा–४ का कमल र ८ का युवाकर मैनालीले आफ्नो पाँच कट्ठा जमिनमा अत्याधुनिक गोठ निर्माण गरी ४० वटा गाई पाल्दै आएका छन् । पालिएमध्ये २६ वटा गाईबाट उत्पादित दुई सय लिटर दूध बिक्रीबाट उनीहरूले सो आम्दानी गरेका हुन् ।

परिवारका तीन र बाहिरका तीन गरी ६ जनालाई रोजगारीसमेत सो फार्मले दिएको छ । ४० लाख रुपियाँको लगानीमा थालिएको फार्ममा केही लगानी एभरेस्ट बैंकमार्फत गरिएको छ भने आदिभन्दा बढी लगानी तिनै दुई युवा व्यवासयीको रहेको छ । फार्मबाट उत्पादित दूध दुग्ध विकास संस्थानमा ३५ रुपियाँ प्रतिलिटर बिक्री गर्ने गरिएको मैनाली बताउँछन् । छिमेकी मुलुक भारत र स्वदेशकै चितवनबाट ल्याइएका गाईहरू तीन महिनाअघिबाट पाल्न थालिएको हो । कालिका बहुउद्देश्यीय कृषि फार्मको नामबाट उनीहरूले १६ वटा होलस्टेन्ड र न्युजर्सी गाई ल्याएका हुन् । काम भनेअनुसार सहज नभएको फार्मका सञ्चालक कमल बताउँछन् । उनले कृषिकका लागि सरकारी अनुदानका कुरा आए पनि त्यस्तो नपाइएको गुनासो गरे ।
सामान्यतया जिल्ला पशुकार्यालयको सुविधाबाहेक अन्य केही सुविधा नपाएको मैनाली दाजुभाइको भनाइ छ । फार्ममा पालिएका गाईका लागि चार बिगाह क्षेत्रफल जमिनमा घाँसखेती गरिएको छ । पछिल्लो समय जिल्लामा दशभन्दा बढी गाई पालेर फार्म सञ्चालन गर्नेको संख्या ८२ भन्दा बढी फार्म रहेको जिल्ला पशुकार्यालयले जनाएको छ ।

प्रतिक्रिया