कोरियामा हुन्डी कारोबार फस्टाउँदो

सोल, ४ पुस । पर्वत थापाठाना घर भई दक्षिण कोरियाको गुन्सानमा ‘डियो मोटर पार्टस्’ कम्पनीमा कार्यरत शेखर श्रेष्ठले हालै हुन्डीमार्फत नेपाली दुई लाख रुपियाँ घर पठाए । ‘बैंकिङ माध्ययमबाट रकम पठाउन महँगो र झन्झट लाग्छ,’ उनले भने, ‘हुन्डीवालाले सजिलै सस्तो शुल्कमा पैसा पठाइदिन्छन्।’

उनका अनुसार अवैधानिक कारोबार मानिने हुन्डी सजिलो भए पनि ठूलै जोखिम मोल्नुपर्छ । विदेशमा दु:ख गरेर कमाएको रकम ढुक्कसँग परिवारजनको लागि स्वदेश पठाउन हुन्डीबाट अलि कठिन हुने उनको अनुभव छ । दक्षिण कोरियामा करिब १९ हजार नेपाली कार्यरत छन् । यहाँ कार्यरत प्राय: सबैले हुन्डी तथा बैंकिङ च्यानलबाट रकम पठाउँछन्, तर पनि बैंकिङ च्यानलबाट रकम पठाउने करिब पाँच हजारको संख्यामा रहेको छ । यो संख्याको पनि केहिले मात्र वैधानिक रूपमा र अन्यले अवैधानिक हुन्डीकै प्रयोग गरिरहेका छन् ।
यहाा कार्यरत सबै कामदारलाई बैंकिङ माध्यममा समेट्न नेपाल सरकार र रेमिट्यान्स कारोबारी सक्षम नदेखिएका कारण कोरियामा हुन्डी व्यवसाय फस्टाएको हो । यहाँ रहेका ६० देखि ७० प्रतिशत नेपालीले हुन्डीमार्फत रकम पठाउने गरेका छन् । अधिकाशं अवैधानिक कामदारले हुन्डीमार्फत रकम पठाउने गरेका कारण पनि हुन्डी व्यवसाय फस्टाएको केही कामदार बताउँछन् ।
कोरियन एक्स्चेन्ज बैंक (केइबी) को तथ्यांकअनुसार रोजगार अनुमति प्रणाली
(इपिएस) मार्फत यहाँ आएका पाँच हजार नेपालीले मात्रै हालसम्म रेमिट्यान्सका लागि बंैक खाता खोलेका छन् । केइबीमा ‘इजी वान’ खाता खोलेमध्ये कोही बैंकमा उपस्थित भई रकम पठाउँछन् भने कोहीले बंैकमा उपस्थित नभई कोरियामा रहेका दुई हजार आठ सयवटा एटिएम काउन्टर, इन्टरनेट र मोबाइल फोनमार्फत स्वदेशमा रकम पठाउने गर्छन् । तर, यो माध्यम सजिलो भए पनि जनचेतना र प्रचारप्रसारको अभावमा सबै नेपालीलाई बैंकिङ माध्यममा समेट्न नसकिएको केइबी बैंक प्रतिनिधिको भनाइ छ ।
दक्षिण कोरियाबाट नेपालमा रकम पठाउने व्यवसायमा हालसम्म नेबिल, सिद्धार्थ, ग्लोबल आइएमई, हिमालय र राष्ट्रिय वाणिज्य बैंकले स्वीकृति पाएका छन् । त्यसअलवा नेपालका अन्य केही बैंकले कारोबार स्वीकृति पाए पनि केइबीसँग सम्झौता गरेर नबिलमार्फतै रकम रेमिट गरिरहेका छन् ।
अन्य बैंकका तुलनामा केइबीमार्फत नेपालमा रहेको नेबिल बैंकमा रकम पठाउन समय र पहुँचका हिसाबले सजिलो हुने ख्वान्जुमा कार्यरत पोखराका सन्तोष पराजुलीको भनाइ छ । अधिकांश कामदार कार्यालय समयमा काममा व्यस्त रहने भएकाले यो माध्ययम सजिलो रहेको यसमा आबद्ध अन्य कामदार बताउँछन् । केइबीले रकम स्थानान्तर गरेका आधारमा स्वत: नेपालमा रहेको खातामा पैसा पठाउन मिल्छ । त्यसका लागि रकम पठाउने कामदार तथा अन्य व्यक्तिले केइबीमा पहिला नै खोलेको खातामा नजिकको कुनै पनि एटिएम काउन्टरबाट जुनसुकै बेला रकम ट्रान्सफर गरे सो रकम कार्यालय खुलेको दिनको विनिमयदरअनुसार नेपालको खातामा रकम जम्मा हुने गर्छ ।
कोरियामा कार्यरत कामदार, विद्यार्थी, पारिवारिक भिसाबाहेक, व्यापारी, प्राध्यापक, शरणार्थी, अनुसन्धानकर्ता, धार्मिक व्याक्तिलगायत नेपाली स्वदेशमा डलर भित्र्याउने कार्यमा सहभागी छन् । विदेशी नागरिकले यहाँबाट वार्षिक ५० हजार र विद्यार्थीले एक लाख डलर रुपियाँसम्म कारोबार गर्न पाउने कानुनी अधिकार छ । सोभन्दा बढी रकमको कारोबार गर्दा स्रोत खुलाउनु पर्ने हुन्छ । विदेशमा काम गर्ने नेपालीले पठाएको विप्रेषणले नै मुलुकको अर्थतन्त्रलाई धानेको अपेक्षा गर्दे आएको छ । कोरियामा रहेका नेपाली सञ्चारकर्मी गोपाल संग्रौलाले बैंकमार्फत स्वदेशमा रकम पठाउँदा मुलुकको आर्थिक विकासका साथै सुरक्षित र भरपर्दो हुने बताउँछन् ।

प्रतिक्रिया