आप्रवासन दिवस मनाइयो

काठमाडौं, ४ पुस । बाह्रौ अन्तर्राष्ट्रिय आप्रवासन दिवस ‘सुरक्षित, मर्यादित र लाभदायक वैदेशिक रोजगार आप्रवासी कामदारको अधिकार’ भन्ने नाराकासाथ विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ ।

डिसेम्बर १३ देखि मुलुकका विभिन्न स्थानमा विभिन्न प्रकारका चेतनामूलक कार्यक्रमको आयोजना गरी साताव्यापी आयोजना भएको आप्रवास दिवसमा विभिन्न संघ/संस्था वैदेशिक रोजगार कम्पनी तथा सरोकारवालको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ४, २००० मा १८ डिसेम्बरलाई अन्तराष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेदेखि यस दिनलाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रूपमा मनाउने गरिएको छ ।
श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सन् २००० देखि नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिएको छ । सुखमय जीवनयापनका लागि वैदेशिक रोजगारीमा जाने क्रम अहिले आप्रवासी समस्याका रूपमा दिनानुदिन बढिरहेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव बुद्धिबहादुर खड्काले बताए ।
स्वदेशमा रोजगारीको व्यवस्था नहुनु, राजनीतिक अस्थिरता चुलिँदै जानु, सीपयुक्त रोजगारमूलक शिक्षा राज्यले प्रत्याभूति नगर्नु नै आप्रवासी बढ्नुको प्रमुख कारण रहेको प्रवक्ता खड्काको भनाइ छ ।
एसिया तथा प्रशान्त क्षेत्रमा मात्र करिब २५ प्रतिशत मानिस आप्रवासीका रूपमा रहेको अनुमान छ । नेपालमा आप्रवासनको बढ्दो क्रमसँगै विभिन्न समस्या र चुनौती थपिँदै आएका छन् । जनचेतनाको कमी, विदेशी भूमिको बाटो हँुदै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति, वैदेशिक रोजगारीमा ठगी पारिश्रमिक र सेवा सुविधा न्यून हुनु, घरेलु महिला विभिन्न समस्यामा पर्नुलगायत समस्याले आप्रवासीहरू पीडित रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा आप्रवासीका रूपमा जानेको संख्या गत कात्तिक मसान्तसम्म २५ लाख ९० हजार ९३ पुगेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या एकिन हुन नसके पनि पछिल्लोपटक भारतमा जाने नेपालीको संख्या करिब ४० लाख नाघेको र त्यसमा महिलाको संख्या दुई लाख ५० हजार पुगेको अनुमान छ ।
हाल विश्वका एक सय ८ मुलुकमा नेपालीहरू रोजगारीका लागि आप्रवासी बन्ने गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी आप्रवासी नेपाली मलेसियामा रहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने पाँच प्रमुख गन्तव्य राष्ट्रमा मलेसियामा जाने नेपालीहरूको संख्या गत कात्तिक मसान्तसम्म सात लाख ७३ हजार नौ सय ४० रहेको छ । त्यसैगरी, अन्य मुुलुकमा क्रमश: कतारमा छ लाख ९० हजार ३९५, साउदी अरबमा चार लाख ९२ हजार ८९६, संयुक्त अरब इमिरेट्स (युएई) मा तीन लाख १३ हजार ४६१, कुबेतमा ६४ हजार २१९, बहराइन, ३३ हजार ७६, ओमनमा १७ हजार ८३, दक्षिण कोरियामा, १५ हजार ७०७, लेवनान १० हजार १२४, इजरायल, सात हजार २६१, अफगानिस्तान पाँच हजार ७६४ जापान, पाँच हजार ३९६, तथा अन्य विभिन्न मुलुकमा एक लाख ६० हजार ७७१ व्यक्ति आप्रवासीका रूपमा कार्यरत रहेको बताइएको छ ।

प्रतिक्रिया