खोजखबर

विदेशीलाई हराउँदा गौरव लाग्छ

सौर्य अनलाइन २०६९ पुष ३ गते २:१० मा प्रकाशित

काठमाडौंको टेकुमा हुर्किएकी म । चाडबाड आउँदा टोलमा विभिन्न कार्यक्रम आयोजना गरिन्थे । खेलकुद प्रतियोगिता पनि हुन्थे । म सानैदेखि तिनमा भाग लिन्थेँ । अन्य कार्यक्रमभन्दा खेलकुदतिरै मेरो रुचि बढी थियो । खेलकुदमा पनि तेक्वान्दो मन पर्ने । ठूला मान्छेहरूले ‘हुस–हुस’ गर्दै अरूलाई हानेको र ढालेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।
स्कुलका अतिरिक्त क्रियाकलाप र टोले प्रतियोगितामा तेक्वान्दो खेल्दै जाँदा ०५८ को राष्ट्रिय खेलकुदमा सहभागी हुने अवसर पाएँ । पहिलोचोटि नै स्वर्ण जितेँ । प्रेरणा र हौसला एकैचोटि बढिहाल्यो । मनले झकझक्यायो– तैंले अझै खेल्नुपर्छ मनिता, अझै धेरै स्वर्ण जित्नुपर्छ ।
सुरुसुरुमा घरबाहिर गएर खेल्नु छोरीमान्छेका लागि सहज थिएन । मैले जितेर पदक प्राप्त गर्न थालेपछि परिवारलाई पनि मप्रति विश्वास बढ्दै गयो । अब मलाई राष्ट्रका लागि खेल्नुपर्छ र त्यसका लागि मेहनत गर्नुपर्छ भन्ने भावना पलाउन थाल्यो । पहिलो सफलताले हौसला बढाएपछि त्यसपछि तीनवटा राष्ट्रिय गेम खेलेँ मैले । अब मेरो पाइला अन्तर्राष्ट्रिय प्रतियोगितातिर पनि बढ्न थाल्यो ।
२००६ मा श्रीलंकामामा सम्पन्न दशौँ साफ । मैले सहभागिता जनाएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता । यस्तो अवसर पाउँला भन्ने कल्पना पनि थिएन । यस्तो प्रतियोगितामा सहभागिता जनाउन पाएकोमै दंग थिएँ । पदक पाइएला वा जितिएला–नजितिएला भन्नेमा ध्यानै थिएन । कति गर्नु नेपाली भूमिमा मात्र हुस–हुस, कति हान्नु आफ्नै देशका खेलाडीलाई मात्र किक † विदेशीसँग प्रतिस्पर्धा गर्न पाएकोमा गौरव लाग्दै थियो । आफ्नो खेलकौशल स्वदेश बाहिर पनि देखाउन पाउँला भन्ने कहाँ लागेको थियो र स्कुल अनि टोलका प्रतियोगिताहरू खेल्दा ।
विदेशमा गएर खेल्नुलाई नै ठूलो उपलब्धि सोचेकी मैले कल्पना नै नगरेको परिणाम निकालेछु । विदेशी खेलाडीहरूलाई हराएर स्वर्ण जितेछु । धेरै खुसी लाग्यो, राष्ट्रका लागि पनि केही योगदान गर्न सकेँ भनेर । अवसर र सुविधा पाए गर्न सकिँदो रहेछ, अब अझै राम्रो गर्छु भन्ने लाग्यो । आत्मविश्वास चुलिँदै गयो । क्षमता थप निखार्दै लगेँ । साफको स्वर्णले खुसीसँग राष्ट्रप्रतिको जिम्मेवारी अझ बढेको अनुभूति गरायो ।
स्पेनमा भएको सत्रौँ विश्व तेक्वान्दो च्याम्पियनसिपको छनोटमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने अवसर पाएँ । करिव दुई सय देशका खेलाडी थिए । साफमा भन्दा अझ बढी देशका खेलाडीसँग खेल्न पाएकोमा झन् खुसी लाग्यो । युरोपमा गएर त्यति धेरै खेलाडीबीच प्रतिस्पर्धा गर्न पाउनु सामान्य कुरा होइन हाम्रा लागि । यति बेला मेरो क्षमता सहभागिता मात्रैमा सीमित भयो । यसमा मेडल जित्नु सजिलो छैन पनि । अझ मेहनत गर्नुपर्ने रहेछ भन्ने लाग्यो । तर, यो सहभागिता मात्रै पनि विशेष हो भन्ने थियो ।
२००६ मा दोहामा भएको पन्ध्रौँ एसिएन गेममा कांस्य पदक जितेसँगै विदेशी खेलाडीसँग खेल्न अझ सिक्नु र मेहनत गर्नु पर्छ भन्ने प्रेरणा पाएँ । प्रशिक्षणका लागि कोरिया गएँ । त्यहाँ एक वर्ष तालिम लिएँ । सो दौरान त्यहाँ सञ्चालित कोरिया ओपनमा पनि भाग लिएँ । दुई पटक साफमा खेलेँ मैले । राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर मसँग दशवटा स्वर्ण, एक एक रजत र कांस्य छन् । अझ दुई वर्ष खेल्ने विचार छ । हेराँै, कत्तिको प्रगति गर्न सक्छु । (वार्तामा आधारित)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय