प्रचण्डले गरेको सहमति प्रधानमन्त्रीले भाँडे

काठमाडौं, ३ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएपछि नयाँ सरकार गठन र राजनीतिक निकासको प्याकेजमै समाधान खोज्ने प्रमुख दलको प्रयास अवरुद्ध भएको छ । आºनो पार्टी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख तीन दलका नेताले आइतबार अनौपचारिक रूपमा तयार गरेको सहमतिको खाकाप्रति आपत्ति जनाउँदै भट्टराईले कांग्रेस सभापति सुशील कोइरालालाई कुनै पनि हालतमा नमान्ने बताएपछि सहमति प्रक्रिया बिथोलिएको हो ।

भट्टराईले शान्तिप्रक्रियाको टुंगो लगाउने, सत्यनिरूपण तथा मेलमिलाप, बेपत्ता छानबिनलगायत आयोग गठन गर्ने, संविधान संशोधन गरी चुनावका कानुनी अवरोध हटाउने र वैशाखमा चुनाव घोषणा अहिलेकै सरकारले गर्ने र यही सरकारलाई केही समय सहमतिको स्वरूप दिनुपर्ने अडान अघि सारेका हुन् । अध्यक्ष दाहालसहित प्रमुख दलहरूबीच अनौपचारिक तहमा भएको सहमतिलाई नमान्ने प्रधानमन्त्रीले बताएपछि सोमबार प्रमुख चार दलको औपचारिक बैठक बसी निकासमा पुग्ने प्रयास विफल भयो ।
आºनै सरकारमा कांग्रेस–एमालेलगायत दल समावेश भई त्यसैलाई सहमतिको स्वरूप दिएर कानुनी व्यवधान हटाई नयाँ चुनाव घोषणा गर्नुपर्ने भट्टराईको जिकिर छ । यसअघि आइतबार एमाओवादी अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अनौपचारिक छलफल गरी ‘दुवै पक्षलाई मान्य हुनेगरी प्याकेजमै’ सहमति गर्नेगरी दलहरू सहमतिनजिक पुगेको बताएका थिए ।
भट्टराई नेतृत्वको सरकारले नै दलहरूबीचको सहमतिका आधारमा संविधान र निर्वाचनसम्बन्धी ऐन, कानुन संशोधनका लागि बाधा–अड्काउ फुकाउन राष्ट्रपतिलाई सिफारिस गर्ने, निर्वाचनको मिति घोषणा गर्ने र सोही दिन भट्टराईले राजीनामा गरी कांग्रेस सभापति सुशील कोइरालालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्ने उनीहरूबीच अनौपचारिक सहमति भएको थियो । यस्तै, संविधान निर्माणसम्बन्धी विगतमा संविधानसभामा भएका र संघीयताबाहेक प्रमुख दलहरूबीच भएका सहमतिको स्वामित्व लिनेगरी नयाँ बन्ने संविधानसभाले काम थाल्नेमा पनि उनीहरूबीच सहमति भएको थियो ।
तर, प्रधानमन्त्री भट्टराईले अनौपचारिक तहमा भएको सहमतिलाई ठाडै अस्वीकार गरेपछि सोमबारै चार प्रमुख दलका नेताहरूको शीर्ष बैठकले औपचारिक सहमति गर्ने प्रयास अवरुद्ध भएको छ । सोमबार दिनभर यसअघि भएका अनौपचारिक सहमतिलाई लिपिबद्ध गरी साँझ प्रमुख चार दलका शीर्ष नेताहरूको बैठकले औपचारिक सहमति गर्ने तयारी थियो । तर, प्रधानमन्त्री भट्टराईले त्यसलाई अस्वीकार गरेपछि दलहरूको सोमबार बस्ने भनिएको औपचारिक बैठक पनि बस्न सकेन ।
बिहान अध्यक्ष दाहालको निवासमा पुगेका भट्टराईले दाहाललाई भेटी अनौपचारिक सहमतिप्रति आपत्ति जनाएका थिए । साँझ एमाले वरिष्ठ नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री भट्टराईले सजिलै सरकार नछाड्ने अडान प्रस्तुत गरेका थिए ।
‘यही सरकारलाई केही समय सहमतिको स्वरूप दिनुपर्ने कुरा प्रधानमन्त्रीका तर्फबाट राखिएको छ,’ नेपालसँग प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, ‘यथास्थितिमा अन्योलता थपेर सरकार छाड्ने कुरा हुँदैन, वैशाखमा चुनाव सुनिश्चित हुनुपर्छ ।’ भट्टराईले कांग्रेस सभापति कोइरालालाई कुनै पनि हालतमा अहिले प्रधानमन्त्री बनाउन समर्थन गर्न नसकिने पनि नेपाललाई बताएका थिए । भेटमा एमाले वरिष्ठ नेता नेपालले राष्ट्रपतिले प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरूलाई आह्वान गरिसकेपछि केयरटेकर सरकारलाई नै सहमतिको स्वरूप दिने कुरा सम्भव नरहेको बताएका थिए ।
‘राष्ट्रपतिले प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरूलाई आह्वान गरिसकेपछि केयरटेकर सरकारलाई सहमतिको स्वरूप दिन सकिँदैन,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारको विस्थापन र नयाँ सरकार गठन तथा राजनीतिक निकासबारे प्याकेजमै समाधान खोज्नुपर्छ ।’
दलहरूबीच सहमतिका लागि बन्दै गएको सकारात्मक वातावरण प्रधानमन्त्री भट्टराईले भाँडेको कांग्रेस र एमालेले बताएका छन् । एमाओवादी जुनसुकै कारणले सहमतिबाट पछि हटे पनि त्यसले मुलुकलाई गम्भीर संकटमा धकेल्ने विपक्षी नेताहरूको भनाइ छ । ‘दलहरू निकास खोज्न सकारात्मक बिन्दुमा पुगिसकेका थिए,’ एमाले अध्यक्ष झलनाथ खनालले सौर्यसँग भने, ‘एमाओवादीभित्र विवाद उत्पन्न भएर समस्या आएको छ । सहमतिलाई रणनीतिक रूपमा उपयोग गर्ने जुनसुकै कुरा गर्न खोजिएको भए पनि त्यसले मुलुकलाई विकराल ठाउँमा पुर्‍याउँछ ।’
यस्तै, सोमबार साँझ बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री भट्टराईले दलहरूबीच बन्नै लागेको सहमति भाँडेको निष्कर्ष निकालेको छ । ‘आज प्याकेजमै सहमति गर्ने अनौपचारिक तहमा समझदारी भएको थियो,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सौर्यसँग भने, ‘सकारात्मक कुरा पनि गर्दै जाने र अन्य दललाई अल्मल्याउँदै जाने गरेकाले समस्या झन् बल्झन पुगेको छ ।’ उनले प्रधानमन्त्री भट्टराईकै कारण सहमति भाँडिएको बताए ।
सोमबार नै प्रमुख दलका शीर्ष नेताहरूको बैठकअघि अनौपचारिक तहमा भएका सहमतिलाई लिपिबद्ध गर्ने र साँझ औपचारिक सहमति गरी राष्ट्रपतिलाई जानकारी गराउने तयारी आइतबार दाहाल, नेपाल र सिटौलाबीच भएको थियो । तर, सोमबार बिहान दाहालनिवासमा भएको छलफलमा दाहालले पार्टीभित्र आन्तरिक समस्या आएको भन्दै त्यसलाई मिलाउन केही समय लाग्ने बताएका थिए । दलहरूबीच सहमति हुनै लागेको बताउँदै आएका दाहालले पार्टीभित्रको आन्तरिक समस्या समाधान गरी पुन: छलफल गर्ने आश्वासन कांग्रेस, एमालेलाई दिएका छन् । ‘गम्भीर विषयमा सहमति गर्नुअघि पार्टीभित्र र मधेसी मोर्चाबीच पनि केही विषयमा छलफल गर्न गृहकार्य चाहियो,’ एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सौर्यसँग भने, ‘पार्टीभित्र र मधेसी मोर्चाका साथीहरूसँग पनि समान बुझाइ बनाएर सहमतिमा जाऊँ भनेर आजको बैठक नसकेको हो ।’
आइतबार मात्रै एमाओवादी अध्यक्ष दाहालले राजनीतिक निकासबारे दलहरूबीच अनौपचारिक सहमति भइसकेको र सोमबार साँझसम्म सहमति गरेर आउने आश्वासन राष्ट्रपतिलाई दिएका थिए । राष्ट्रपतिले सहमतिका लागि चौथोपटक दिएको समय–सीमा सकिएकै दिन सोमबार साँझ प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बसी सहमतिलाई सूत्रबद्ध गर्ने र राजनीतिक निकास प्रधानमन्त्रीकै कारण असफल भएको छ ।

प्रतिक्रिया