एपिएफ र जनकपुर सेमिफाइनलमा

काठमाडौं, २ पुस । सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र क्षेत्र नम्बर सात जनकपुरधाम राजधानीमा जारी एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन । समूहका आफ्ना सबै खेलमा यी दुवै टोली विजयी भए ।

आइतबार भएका खेलमा जनकपुरधामले क्षेत्र नम्बर दुई वीरगन्जलाई ८० रनले पराजित गर्‍यो भने क्षेत्र नम्बर आठ पोखराविरुद्धका लागि खेलिएको खेलमा एपिएफ १५४ रनले विजयी भयो ।
ज्ञानेन्द्र मल्लको शतक्रीय इनिङपछि एपिएफले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २८८ रन जोडेको थियो । ज्ञानेन्द्रले १०९ रन जोडे भने सञ्जय श्रेष्ठले ८३ रन बनाए । जारी प्रतियोगिताकै पहिलो शतक बनाउनेक्रममा ज्ञानेन्द्रले खेलभर १३३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । ज्ञानेन्द्र र सञ्जयबीच तेस्रो विकेटका लागि ८९ रनको साझेदारी भएको थियो । ज्ञानेन्द्रले ५१ रन जोडेका सरष भेष्वाकरसँग चौथो विकेटका लागि १५३ रनको साझेदारी गरेका थिए । ५८ बलको मात्र सामना गरेका सञ्जयले ११ चौका र चार छक्का प्रहार गरेका थिए । यता पोखराले भने निर्धारित ५० ओभर खेले पनि नौ विकेट गुमाउँदै १३९ रन मात्र जोड्यो ।
आइतबार नै भएको खेलमा जनकपुरधामले पहिला ब्याटिंङ गर्ने क्रममा हरिशंकर शाहको ९४ र राज मोहम्मदको ६४ रनको योगदानमा निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २८७ रन जोडेको थियो । यता प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले १०१ रन जोडे पनि वीरगन्जले ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २०७ रन जोड्यो । बलिंङतर्फ जनकपुरधामका अनिल मण्डलले चार विकेट लिए भने कुमार प्रसुनको नाममा दुई विकेट रह्यो ।

प्रतिक्रिया