उद्योग व्यवसायमा वार्षिक ७० अर्ब घाटा

काठमाडौं, २ पुस । ऊर्जा संकटका कारण उद्योग व्यवसायमा वार्षिक ७० अर्ब रुपैयाँ घाटा हुने गरेको पाइएको छ । ऊर्जा अभावका कारण उद्योगधन्दा सञ्चालनका लागि इन्भटर, जेनेरेटरको आयात, डिजेल प्रयोग गर्नुपर्ने भएपछि उत्पादन कम भई बर्सेनि उद्योग व्यवसायीले ७० अर्ब घाटा व्यहोर्नुपरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ४०१ मिलियन गेगाजुल विद्युत् खपत हुने गरेकोमा उद्योगधन्दाको १३.४ मिलियन गेगाजुल छ । त्यसमध्ये २३.९ प्रतिशत विद्युत् तथा ५८.७ प्रतिशत कोइलामार्फत ऊर्जा खपत हुँदै आएको छ । ‘ऊर्जा संकटका कारण मात्र उद्योग व्यवसायीले बर्सेनि ७० अर्ब घाटा व्यहोर्दै आएका छन्,’ जर्मन सरकारको सहयोगमा सञ्चालित महासंघको ऊर्जा दक्षता केन्द्रका आयोजना प्रबन्धक डा. उत्तम कुँवरले भने, ‘ऊर्जा संकटकै कारण ४० प्रतिशत उत्पादन घटेको छ भने प्रतियुनिट २८ रुपियाँ पर्ने विद्युत्को उपयोग गरेर उद्योगधन्दा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’
प्रबन्धक डा. कुँवरका अनुसार उद्योग व्यवसायमा करिब एक हजार मेगावाट विद्युत् आवश्यक रहेकामा ५ सय मेगावाटभन्दा बढी डिजेलबाट ऊर्जा खपत गर्नुपर्ने अवस्था छ ।
नेपालमा साना, मझौला र ठूला गरी करिब ४ हजार ३ सय १० वटा उद्योग व्यवसाय छन् । ती उद्योगले ऊर्जा सहज खपत नभएपछि जेनेरेटर, इन्भटर आदिमार्फत विद्युत्को आपूर्ति गर्नुपर्ने अवस्था छ । महासंघका अनुसार लोडसेडिङलगायत समस्याका कारण करिब ५० उद्योग बन्द छन् भने सञ्चालित उद्योगसमेत ऊर्जा अभावले संकटका साथ सञ्चालन भइरहेका छन् ।
ऊर्जा संकट गहिरिँदै गएपछि विद्युत् प्राधिकरणले दैनिक १० घन्टा लोडसेडिङ गरिरहेको छ भने हिउँदमा १८ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिसकेको छ । ‘ऊर्जा संकटले भयावह रूप लिँदै छ, यसले उद्योग–धन्दा चौपट्ट हुने अवस्थामा पुगेको छ,’ उनले भने ।

प्रतिक्रिया