शोधनान्तर बचत घट्दै

काठमाडौं, १ पुस । शोधनान्तर रकम पुन: घट्न थालेको छ । गत आर्थिक वर्षमा ४६ अर्बभन्दा माथि पुगेको मुलुकको शोधनान्तर बचत चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ करोड रुपियाँ मात्र पुगेको छ । गत आवको अन्तसम्म शोधनान्तर बचत एक सय २७ अर्ब ७० करोड रुपियाँ पुगेको थियो । वर्षको पहिलो महिनामा तीन अर्ब ८५ करोड रुपियाँ थियो । यो रकम चालु आवको तेस्रो महिना पुग्दा ३५ करोड पुग्यो भने चौँथो महिनामा १२ करोड रुपियाँमा झरेको हो ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार व्यापार घाटा ठूलो दरमा बढेका कारण शोधनान्तर बचत कम भएको हो । उनका अनुसार सिमेन्ट तथा पाइपको आयात बढेर ठूलो रकम बाहिरिएको एवं रेमिट्यान्स आप्रवाह दर घट्नु, सेवा क्षेत्रको आयात पुन: नकारात्मक बन्नु जस्ता कारणले शोधनान्तर बचत घटेको हो । चार महिनामा व्यापार घाटा ३६ दशमलव ३ प्रतिशतले बढेर एक सय ५२ अर्ब ३८ करोड पुगेको छ । कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा ३९ दशमलव ३ प्रतिशतको उच्चदरले बढेको छ ।
पढ्न विदेश जानेले पनि ठूलो मात्रामा रकम लैजान थालेको र रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३४ दशमलव २ प्रतिशतबाट २३ दशमलव ४ प्रतिशतमा झरेको छ । मुलुकले यो वर्ष पूर्णबजेट नपाउँदा वैदेशिक सहयोग र ऋण पनि घटेको ती अधिकारीले बताए । चालु आवको पहिलो चार महिनामा एक खर्ब २७ अर्ब ३५ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक नगद ऋणबापत् ७० करोड १३ लाख र वैदेशिक नगद अनुदानबापत् चार अर्ब ५९ करोड मात्र प्राप्त भएको छ । कात्तिकमा कुल वस्तु निर्यात ११ दशमलव ७ प्रतिशतले बढेर २६ अर्ब ४६ करोड पुगेको छ । कुल वस्तु निर्यातमध्ये भारततर्फको ४ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष १४ दशमलव ६ प्रतिशतले बढेको थियो । अन्य मुलुकतर्फको निर्यात २४ दशशमलव ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ४ प्रतिशतले बढेको थियो । भारततर्फ जिआई पाइप, जुटको बोरा, पोलिस्टर धागो, तार र अदुवाको निर्यात बढेको छ । अन्य मुलुकतर्फ विशेष गरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
कुल वस्तु आयात ३२ प्रतिशतले बढेर १७८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात ११ दशमलव ८ प्रतिशतले बढेर १३५ अर्ब ४९ करोड पुगेको थियो । कुल आयातमध्ये भारतबाट ३३ प्रतिशतले वृद्धि भएको छ । अन्य मुलुकबाट ३० दशमलव २ प्रतिशतले बढेको छ । भारतबाट मुख्यतया: पेट्रोलियम पदार्थ, एमएस बिलेट, सवारीसाधन तथा पाटपुर्जा, रासायनिक मल र सिमेन्ट लगायतको आयात बढेको छ । अन्य मुलुकबाट विशष गरी पाइप तथा पाइप फिटिङ, दूरसञ्चारका उपकरण, तयारी पोसाक, सुन र खाने तेललगायतको आयात बढेको छ ।
मूल्यवृद्धि साढे १० प्रतिशत पुगेको छ । सरकार एवं नेपाल राष्ट्र बैंकले साढे सात प्रतिशतमा मूल्यवृद्धिलाई सीमित राख्ने लक्ष्य राखेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८ दशमलव ९ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ११ दशमलव ७ प्रतिशतले बढेको छ । कात्तिकसम्म सबैभन्दा बढी पहाड र तराईमा मूल्यवृद्धि भएको छ । दुवै क्षेत्रमा १० दशमलव ८ प्रतिशतका दरले मूल्य बढेको हो ।
काठमाडौं उपत्यकामा ९ दशमलव ६ प्रतिशतले मूल्य बढेको छ ।
चालु आवको पहिलो चार महिनामा विदेशी विनिमय सञ्चिति भने झिनो प्रतिशतले वृद्धि भएर चार खर्ब ३९ अर्ब ४६ करोड रुपियाँ पुगेको छ । बैकिङ क्षेत्रको कुल सञ्चिति अमेरिकी डलरमा पाँच अर्ब पाँच करोड रुपियाँ पुगेको छ । भारतीय मुद्रा सञ्चिति ५७ अर्ब दुई करोड रुपियाँ पुगेको छ । वर्तमान विदेशी विनिमय सञ्चितिले १० दशमलव, एक महिनाको वस्तु आयात एवं ८ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया