खोजखबर

नक्कली अपहरणले प्रहरी हैरान

सौर्य अनलाइन २०६९ पुष १ गते ३:०५ मा प्रकाशित

काठमाडौं, १ पुस । घटना १ : भ्रमणका लागि नेपाल आएका ढाका अहमेद नगरका ३४ वर्षीय एमरान सिद्धिकले अपहरणमा परेको भन्दै श्रीमतीलाई फोन र एसएमएस गरे । बंगलादेश प्रहरीमार्फत खबर पाउनासाथ उनको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखाको ठूलै टोली खटियो । कलडिटेल्स बटुलिए । शंकास्पद व्यक्तिको पहिचान गर्न ठूलै दौडधूप भयो । करिब २४ घन्टाको खोजीपछि उनी अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिए । सोधपुछपछि पो पत्ता लाग्यो, उनको अपहरण त नाटक रहेछ । श्रीमतीसँग ‘मजाक’ गर्न उनी आफँैले पो यो हतकण्डा मच्चाएका रहेछन् । प्रहरी नमज्जासँग जिल्लिए । सोधपुछपछि सिद्धिकलाई त्यसै छाडियो ।

घटना २ : ४ मंसिरको मध्याह्न । ‘सर्वोच्च बारका कोषाध्यक्ष राजकुमार थापा अपहरणमा परे’ प्रहरीको १०० मा कसैले जानकारी दियो । महाशाखालाई तत्काल खबर गरियो । महाशाखाको प्रहरी टोली नक्साल दुगलमार्गकी ६९ वर्षीय बनुदेवी राणा हत्याको अनुसन्धानमा खटिएका थिए । सर्वोच्च बारकै कोषाध्यक्ष अपहरणमा परेको सूचना आएपछि महाशाखाले राणा हत्यालाई थाती राखेर टोली त्यसतर्फ खटायो । कल डिटेल्स बटुल्यो, डिटेल्सकै आधारमा ‘लोकेसन सर्च’ गर्‍यो । शंकास्पद व्यक्तिमाथि निगरानी बढायो । करिब चार घन्टाको मिहिनेतपछि पत्ता लाग्यो, थापाको अपहरण पनि नक्कली रहेछ । साथी खगेन्द्र सुवेदीले पटक–पटक फोन गरेपछि जिस्क्याउने उद्देश्यले थापाले फोनबाटै ‘म त अपहरण’ परेँ भनेका रहेछन् । आत्तिएका सुवेदीले नै प्रहरीको १०० मा जानकारी गराएका रहेछन् । यस घटनामा पनि प्रहरी नमज्जाले जिल्लिए ।

घटना ३ : मोरङ रंगेली–१ का ४५ वर्षीय विनोद गोयललाई पुतलीसडकस्थित कुमारी बैंकअगाडिबाट कारमा आएका ३ जनाले जबर्जस्ती कारभित्र कोच्दै आँखामा पट्टी बाँधेर अज्ञातस्थलतर्फ लगेको र साथमा रहेको ४५ हजार रुपियाँ लगेको भन्दै प्रहरीमा उजुरी पर्‍यो । उजुरीका आधारमा घटनाको अनुसन्धान गर्दा अपहरण भएको देखिएपछि अपराध महाशाखाबाट विशेष प्रहरी टोली खटियो । घटनाको अनुसन्धान भयो । तर, पछि पत्ता लाग्यो, गोयल आफैँले प्रहरी कार्यालयमा अपहरणको झुटा उजुरी दिएका रहेछन् । गोयललाई आफन्तको जिम्मा लगाई घर पठाइयो ।
उपत्यकाभित्र पछिल्लोपटक भएका नक्कली अपहरणका केही उदाहरण हुन्, यी । जसले प्रहरीलाई हैरान पारेको मात्र होइन, गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा समेत असर गरेको छ । प्रहरीका अनुसार उपत्यकामा यस प्रकृतिका घटना पछिल्लोपटक ह्वात्तै बढेका छन् । तीमध्ये कम मात्रै प्रहरीको तथ्यांकमा चढ्ने गर्छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदी नाटकीय अपहरणका घटना पछिल्लोपटक बढेको स्विकार्दै भन्छन्, ‘नक्कली अपहरणका घटना बढेका छन्, धेरैजसोको त हामी रेकर्ड नै राख्दैनाँै, राखेर साध्य पनि हुँदैन, किनकि यस प्रकृतिका घटनामा संलग्न हुनेहरूलाई कारबाही गर्ने स्पष्ट कानुन छैन । कारबाही नै नहुने भएपछि रेकर्ड राख्नुको अर्थ छैन ।’
दुई वर्षयता महाशाखामा अपहरणसम्बन्धी २४ वटा उजुरी परे । त्यसमध्ये नौवटा मात्रै वास्तविक घटनामा आधारित थिए, बाँँकी सबै नक्कली । स्पष्ट कानुन अभावमा नक्कली अपहरणका अधिकांश घटनाका सूत्रधारलाई महाशाखाले त्यत्तिकै छाड्दै आएको छ । केहीको हकमा मात्रै महाशाखाले सार्वजनिक मुद्दा चलाएको छ । तथ्यांकअनुसार महाशाखाले दुई वर्षयता आठवटा नक्कली अपहरणमा संलग्न हुनेहरूलाई सर्वजनिक मुद्दाअन्तर्गत कारबाही अघि बढाएको छ ।
महाशाखाका एसएसपी सुवेदी यस्ता घटनाले अपराध अनुसन्धानमा गम्भीर असर पुर्‍याएको बताउँछन् । उनी भन्छन्, ‘हामीकहाँ अपहरण भयो भनेर सूचना आउँछ, घटनालाई गम्भीरपूर्वक लिन्छाँै र प्रहरी परिचालन हुन्छ, अपहरण नक्कली भएको अन्तिममा मात्रै पत्ता लाग्छ । यसो हुँदा राज्यशक्तिका दुरुपयोग त भयो नै, अर्को यसले भाविष्यमा हुनसक्ने वास्तविक घटनालाई पनि भ्रममा पार्न सक्छ ।’
नक्कली अपहरणका घटना बढेकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी जयबहादुर चन्द पनि सहमत छन् । विगत ६ महिनामा मात्रै नक्कली अपहरणका २५ भन्दा धेरै उजुरी परेको उनी बताउँछन् । चन्दका अनुसार तीमध्ये पनि अधिकांश केटा र केटी भागेपछि अभिभावकले हालेका अपहरणका उजुरी बढी छन् । उनी भन्छन्, ‘उमेर पुगेका केटाकेटीको मायाप्रीति चल्छ, विवाहका लागि अभिभावक तयार हुँदैनन् । उनीहरू भाग्छन् । केटा र केटी भागे भनी उजुुरी हाल्दा अभिभावकलाई अप्ठ्यारो । तर, अपहरणमा परेको भन्दा घटना गम्भीरजस्तो हुने र उजुरी हाल्न पनि सजिलो । यसैले पनि नक्कली अपहरणका घटना बढेका हुन् ।’
एसएसपी चन्दका अनुसार आपसी लेनदेनका कारण पनि नक्कली अपहरणका घटना बढेका छन् । पछिल्लो पाँच महिनामा मात्रै लेनदेनबाट हुने नक्कली अपहरणको संख्या २५ भन्दा धेरै पुगेको छ । उनी भन्छन्, ‘आर्थिक लेनदेनका मुद्दा प्रहरीलाई हेर्न अनुमति छैन । अदालतले एउटै मुद्दालाई वर्षौं लगाइदिन्छ, त्यसो हुँदा पीडित आफँै पैसा असुल्न बल प्रयोग गर्छन् । अर्को पक्षले त्यही घटनालाई अपहरण भनी प्रहरीमा उजुरी हाल्छ ।’

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय