बन्ने भो ४,१७१ जनाको महानिर्देशनालय

काठमाडौं, ३० मंसिर । माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुन:स्थापनासम्बन्धी विशेष समितिले माओवादी लडाकुलाई समेटी उपरथीको नेतृत्वमा राष्ट्रिय विकास, वन सुरक्षा तथा विपत् व्यवस्थापन महानिर्देशनालय बनाउने निर्णय गरेको छ । नेपाली सेनाका उपरथीको नेतृत्वमा ४ हजार १ सय ७१ जनाको महानिर्देशनालय गठन हुने भएको छ ।
विशेष समितिको शुक्रबारको बैठकले माओवादीका पूर्वलडाकुबाट १ हजार ४ सय ६० र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट २ हजार ७ सय ११ जना गरी ४ हजार १ सय ७१ जनाको महानिर्देशनालय बनाउने निर्णय गरेको हो । मुख्यसचिव लीलामणि पौडेलले महानिर्देशनालयको नेतृत्व उपरथीले गर्ने र सोहीमातहत चार सहायक रथी रहने जानकारी दिए ।
बैठकले आºनो म्याद दुई महिना थप गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, समितिअन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्माको नेतृत्वमा महानिर्देशनालय गठनका लागि सुझाव दिन तीन सदस्यीय समिति गठन गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकले नेपाली सेनाको तालिम लिएका पूर्वलडाकुलाई पुन: स्वैच्छिक अवकाशको मौका दिने निर्णय पनि गरेको छ । समायोजनका क्रममा सेनाको तालिम लिँदै गरेका पूर्वलडाकुले समेत बाहिरिने इच्छा राखेकाले समितिले उनीहरूलाई पुन: अवकाशमा जाने अवसर दिएको हो । आफू समायोजित भएपछि कुन पद पाउने, स्वास्थ्य र घरायसी कारण देखाउँदै सचिवालयमा निवेदन दिनेको संख्या केही समयदेखि बढेको छ । ७१ अधिकृतसहित एक हजार ४ सय ४२ लडाकु भर्ना र छनोटका समायोजका लागि उत्तीर्ण भएका हुन् । उनीहरूलाई नेपाली सेनाले मंसिर १० गतेदेखि तालिममा पठाएको थियो ।
त्यसैगरी, बैठकले स्वैच्छिक अवकाश रोजेर रकम लिन नआएका पूर्वलडाकुलाई ३५ र ७० दिने सूचना जारी गरी रकम लिन आउन आग्रह गर्ने निर्णयसमेत गरेको छ ।

 

 

प्रतिक्रिया