निर्वाचनमा जुट्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वैशाख भित्र संविधानसभाको निर्वाचन गर्ने कार्यमा जुट्न सवैलाई आव्हन गरेका छन् ।
उनले निर्वाचनका लागि सरकारले तयारी सुरु गरिसकेको बताए । काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले नयाँ निर्वाचनवाट मात्रै मुलुकमा विद्यमान लम्विदो संक्रमणकाल अन्त्य हुन सक्ने बताए ।
उनले भने, ‘केही दिन वा हप्ता भित्र दलहरुले समग्र प्याकेजमा सहमति कायम गरेर वर्तमान राजनीतिक गतिरोधको निकास दिनै पर्दछ ।’
उनले प्रधानमन्त्रीको हैसियतले त्यसका लागि जनुसुकै भूमिका निर्वाह गर्न र त्याग गर्न तत्पर रहेको दोहो¥याए ।
‘मुलुकमा विद्यमान संक्रमणकालीन अन्यौल र अतिश्चितताका कारण अन्य क्षेत्र जस्तै स्थानीय निकायमा पनि गतिहीनता देखा परेको छ,’ उनले भने, ‘यसवाट स्वशासन र स्थानीय स्वायत्त शासनको माध्यमद्वारा जनतालाई शासन प्रणालीमा सहभागी गराउने लोकतन्त्रको अभ्यासको श्रृंखला पनि टुट्न पुगेको छ ।’
स्थानीय निकायहरु आर्थिक अनुशासन पालना, सेवा प्रवाह एवं विकास निर्माणको काममा कमजोर वन्दै गएको प्रधानमन्त्री भट्टराईले बताए । ‘पछिल्लो समयमा विभिन्न स्थानीय निकायमा देखापरेको चरम आर्थिक उच्छृंखलता र भ्रष्टाचारजन्य कार्यको श्रृंखलालाई सरकारले गम्भीरतापूर्वक लिएको छ,’ उनले भने ।
स्थानीय निकायमा देखिएको आर्थिक अनुशासनको चरम उल्लंघनका घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै उनले भने, ‘यस्ता कृयाकलापमा संलग्न कर्मचारी तथा अन्य जो कोहीलाई कानून वमोजिम कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर वाँकी राख्ने छैन ।’

प्रतिक्रिया