महिला टोलीको विजयी सुरुआत

काठमाडौं, २९   मंसिर । अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघको आयोजनामा नेपालमा पहिलो पटक बिहीबारदेखि ‘प्रथम अन्तर्राष्ट्रिय आइएचएफ ट्रफी प्रतियोगिता–२०१२’ सुरु भएको छ । प्रतियोगितामा नेपालले विजयी सुरुआत गर्‍यो । नेपालले महिला तर्फको खेलमा यमनलाई २४–६ ले पराजित गर्‍यो । नेपालका लागि बन्दना राईले आठ गोल गरिन्  । नेपालले पहिलो हाफमा ११–१ को अग्रता लिएको थियो  । यमनका लागि समन्नाह अली सहिदले चार गोल गरिन् ।
नेपालको पुरुष टोली भने अफगानिस्तानसँग ४०–१८ ले पराजित भयो  । नेपाली टोली पहिलो हाफमा १६–४ ले पराजित भयो । नेपालका बिशाल अधिकारीले पाँच गोल गरे । यसैगरी अफगानिस्तानका मोहम्मद सबिरले १५ गोल गरे । भारतले पनि बंगलादेशलाई ४३–१० ले पराजित गर्‍यो । पहिलो हाफमा नै २६–४ को अग्रता कायम गरेको भारतीय टोलीका लागि समसेर सिंह र निरज सिंहले ६/६ गोल गरे ।
तेस्रो विश्वमा ह्यान्डबलको विकास गर्ने सोचसहित अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघले जोनल प्रतियोगितामा जोड दिएको हो । साउथ एसियन सेन्ट्रल जोन २ को यो प्रतियोगिताका विजेता र उपविजेताले महादेशीय च्याम्पियनसिपमा सहभागिताको अबसर पाउने छन् । प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालित छ । प्रतियोगिता महिला तर्फ यु–२० तथा पुरुष तर्फ यु–२१ का खेलाडी सहभागी हुनेछन् ।
६ दिनसम्म चल्ने प्रतियोगितामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र यमन गरी ६ राष्ट्रको सहभागिता रहने छ । नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपाललगायतको उपस्थिति  थियो ।

प्रतिक्रिया