पहिलो श्रम गन्तव्य बन्यो मलेसिया

काठमाडौं, २९ मंसिर ।  सरकारले एक सय आठ मुलुकमा वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरे पनि नेपाली कामदारको पहिलो श्रम गन्तव्य मुलुक मलेसिया बनेको छ । अन्य मुलुकभन्दा हावापानी, ऐन–कानुन सहज हुने भएकाले बढी मानिस रोजगारीका क्रममा मलेसिया जाने गरेको देखिएको छ ।
विगत चार वर्षको सरकारी तथ्यांकलाई आधार मान्दासमेत रोजगारीका लागि सबैभन्दा बढी मानिस मलेसिया गएका छन् । पछिल्लो समय अन्य मुलुकले पनि नेपाली कामदारका लागि रोजगारीको अवसर बढाउँदै गए पनि मलेसिया जानेको संख्या भने कम नभएको वैदेशिक रोजगार विभागको भनाइ छ ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई नेपाल र मलेसियाको हावापानी मिल्दो–जुल्दो हुनु तथा कानुनी रूपमा पनि सहज वातावरण रहेकाले अहिले पनि नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मलेसिया नै रहेको बताउँछन् । आव ०५०/५१ यता हालसम्म बढी मानिस रोजगारीमा जाने मुलुक मलेसिया देखिएको उनको भनाइ छ । उनका अनुसार अहिलेसम्म मलेसिया रोजगारीमा जानेको संख्या आठ लाखको हाराहारीमा पुगेको छ ।
वैदेशिक रोजगार व्यवसायीसमेत कानुनी विषयमा खाडी मुलुकभन्दा मलेसियामा खुकुलो रहेकाले अहिलेसम्म मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य रहेको तर्क गर्दछन् । प्रगतिशील वैदेशिक रोजगार मञ्चका उपाध्यक्ष टंकबहादुर राउत कामदारको पारिश्रमिक, रोजगारदाता मुलुकको ऐन–कानुन र भाषालगायत कुरामा मलेसियामा सहज हुनुले बिदेसिनेमा बढी मलेसिया जाने गरेको बताउँछन् ।
विभागका अनुसार आव ०६५/६६ देखि आव ०६८/६९ सम्म तीन लाख ५३ हजार तीन सय २५ जना रोजगारीका लागि मलेसिया गएका छन् । यो अवधिमा कतार नेपाली कामदारको दोस्रो श्रम गन्तव्य बनेको छ । विभागका अनुसार यो अवधिसम्म तीन लाख ४० हजार ७६२ जना कतार गएका छन् । सरकारी तथ्यांकअनुसार नेपाली कामदारको तेस्रो श्रम गन्तव्यका रूपमा साउदी अरब देखिएको छ । चार वर्षयता साउदी जानेको संख्या दुई लाख ६३ हजार सात सय २० रहेको छ ।
विभागका अनुसार आव ०६५/६६ मा दुई लाख १९ हजार नौ सय ६५ जना रोजगारीका लागि बिदेसिएकामा मलेसिया जानेको संख्या ३५ हजार ७० जना छ । सो आवमा ३५ हजार ११ जना पुरुष र ५९ महिला कामदार रोजगारीका लागि मलेसिया गएका थिए । यस्तै, आव ०६६/६७ मा दुई लाख ९४ हजार ९४ जना रोजगारीमा गएकामा एक लाख १३ हजार नौ सय ८२ जना मलेसिया गएका छन् ।
आव ०६७/६८ मा कुल बिदेसिनेको संख्या तीन लाख ५४ हजार सात सय १६ रहेकामा मलेसिया मात्र जानेको संख्या एक लाख पाँच हजार नौ सय ६ जना रहेको विभागले जनाएको छ । सो आवमा एक लाख दुई हजार नौ सय ६६ जना कतार र ७१ हजार एक सय १६ जना साउदी अरब रोजगारीमा गएका थिए ।
विभागका अनुसार गत आव ०६८/६९ मा ९८ हजार तीन सय ६७ जना रोजगारीका लागि मलेसिया गएका छन् । सो आवमा एक लाख पाँच हजार ६ सय ८१ जना कतार र ८० हजार चार सय ५५ जना साउदी गएका थिए । सो आवमा कुल बिदेसिनेको संख्या भने तीन लाख ८४ हजार ६ सय ६५ जना रहेको विभागले जनाएको छ । यस्तै, चालु आवको पहिलो चौमासिकमा समेत मलेसिया रोजगारीमा जानेको संख्या ४९ हजार दुई सय ५४ रहेको छ । यो अवधिमा २७ हजार एक सय ३७ जना साउदी अरब र २१ हजार दुई सय २५ जना कतार गएको विभागले जनाएको छ ।

प्रतिक्रिया