‘शंकाको घेरामा सहकारी’

काठमाडौं, २९ मंसिर । सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले सहकारी शंकाको घेराभित्र रहेको बताएका छन् । केही सहकारी संस्थामा समस्या रहेकाले सम्पूर्ण सहकारी नै शंकाको घेरमा रहेको उनले बताएका हुन् । उच्चस्तरीय सहकारी सुदृढीकरण राष्ट्रिय समितिले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा रजिस्ट्रार न्यौपानेले सो कुरा बताएका हुन् ।
‘पछिल्लो समयमा सहकारीमा समस्या बढेको अवश्य हो,’ रजिस्ट्रार न्यौपानेले भने, ‘यसलाई बेलैमा नियन्त्रण गर्न सकेन भने ठूलो समस्या आउन सक्छ ।’ सहकारीले अनुत्पादित घर–जग्गामा लगानी गरेका कारण समस्यामा आएको उनको भनाइ छ । ‘अनुगमन गर्दा सहकारी मूल्य, मान्यता, सिद्धान्त, ऐन, मापदण्ड लत्याउने सहकारी धेरै भेटिएका थिए,’ उनले भने, ‘नियमविपरीत चल्ने सहकारीलाई कारबाही गर्नेछौँ ।’ सहकारीमा जम्मा भएको निक्षेप, लगानीको यथार्थ तथ्यांक विभागसँग नभएको समते रजिस्ट्रार न्यौपानेले बताए । सहकारी क्षेत्रमा बढी ब्याजको प्रलोभन देखाएर जथाभाबी निक्षेप संकलन गर्ने कार्य बढेकाले यसलाई तत्काल रोक्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले उच्चस्तरीय सहकारी सुदृढीकरण राष्ट्रिय समितिले काम सुरु गरेको बताए । सहकारी सिद्धान्त, ऐन, नियम र आचारसंहिता पालन नगर्ने सहकारीमा सहकारी विभाग र आन्दोलनले संयुक्त रूपमा अनुगमन गरेर संस्थालाई सदृढ बनाउने उनले बताए । ‘समस्यामा रहेका संस्था र सहकारी विभागले अनुगमन गर्दा पनि नियमविपरीत चलिरहेको पाइएकामा विशेषज्ञ टोली पठाएर अनुसन्धानद्वारा यथार्थ स्थिति पत्ता लगाइन्छ,’ बडालले भने, ‘त्यस्ता सहकारी सञ्चालकलाई बोलाएर छलफल गरी समस्या समाधानको उपाय पत्ता लगाउने छौँ ।’ सहकारी क्षेत्रको सुधारका लागि राष्ट्रिय सहकारी नीति र ५ वर्षे सहकारी रणनीति तत्काल लागू गर्ने माग गरिएको बडालले बताए । त्यस्तै बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष मीनराज कँडेलले पल्स सिद्धान्तअनुसार चल्ने सहकारीमा समस्या नरहेको बताए ।

८१ करोडको लागतमा सहकारी हाइड्रो

काठमाडौं : एभरेस्ट इनर्जी को–अपरेटिभ लिमिटेडले ५ मेघावटको जलविद्युत् आयोजना सञ्चालन गर्नेभएको छ । दोलखाको मर्बु गाविसमा अवस्थित घट्टेखोला आयोजनाबाट सो क्षमता रहेको राजधानीमा आयोजित जलविद्युत् आयोजनासम्बन्धी छलफल कार्यक्रममा जानकारी गराइएको थियो । ८१ करोड २४ लाख कुल लागतमा सम्पन्न हुने यस आयोजना ०१५ मा सम्पन्न गरिने आयोजनाले जनाएको छ । सेयर सदस्यलाई वार्षिक १५ प्रतिशत लाभांश बाँडिने पनि संस्थाका उपाध्यक्ष केबी उप्रेतीले बताए ।
४० जना सेयर सदस्यमाट ५१ हजारका दरले संस्था स्थापनामा देशैभरिका सहकारी संस्था र त्यसमा आबद्ध सदस्यलाई सेयर खुला गरिएको छ । सेयर खरिद गर्न दोलखावासीले एक लाख र अन्य बाहिरका मानिसले दुई लाख कम्तीमा खरिद गर्नुपर्ने रहेको छ । एक सय ४६ दिनसम्ममा ५ मेगावट र अन्य समयमा १ दशमलव २ मेघावट उत्पादन क्षमता रहेको संस्थाले जनाएको छ ।

‘सहकारीमा वित्तीय संकट’

सिमरा : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का उपाध्यक्ष ऋषिराज घिमिरेले काठमाडांैका केही नाम चलेका सहकारीमा वित्तीय संकट देखिए पनि समग्र सहकारी क्षेत्रमा कुनै समस्या नभएको बताएका छन् ।
ठूला सहकारीले लगानी र प्रतिफल योजना नबनाई लगानी गरेका कारण ती सहकारीमा तरलताको अभाव देखिएको उनले बताए । रौतहटस्थित जिल्ला बचत तथा ऋण सहकारी संघको १६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
समुदायमा आधारित भई उत्पादनमूलक कार्यमा लगानी गर्दा र वित्तीय सन्तुलन कायम गर्न सकिने अवस्थामा मात्रै सहकारी सफल हुनसक्ने बताउँदै घिमिरेले सबै सहकारीकर्मीलाई उनले सामाजिक सेवा र सद्भाव कायम गरेर अघि बढ्न आग्रह गरे । उदघाटन सत्रपछि आयोजित बन्दसत्रले अध्यक्ष कालिन्दी घिमिरे, महासचिव गणेश पोखरेल र लेखा समिति संयोजक पदम पहाडीले प्रस्तुत गरेको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

प्रतिक्रिया