तीन नाकाबाट विद्युत् आयात गरिने

काठमाडौं, २९ मंसिर । नेपाल विद्युत् प्राधिकरणले भारतको विहार क्षेत्रका थप तीन नाकाबाट ४५ मेगावाट विद्युत् थप आयात गर्ने सहमति गरेको छ ।
भारतसँग विद्युत् आयातका लागि गएको टोलीले जयनगर–सिरहाबाट १० मेगावाट, रक्सौल–वीरगन्जबाट १० मेगावाट तथा वाल्मीकि नगर–गण्डकबाट थप २५ मेगावाट विद्युत् आयात गर्ने सहमति गरेको हो । दुहबी–कटैयाबाट ५० मेगावाट विद्युत् आयात गरिएकामा थप २५ मेगावाट विद्युत् ल्याउने सहमतिसमेत गरेको छ । अहिले भारतको विहार क्षेत्रबाट ६७ मेगावाट विद्युत् आयात गरिएकामा विहारबाट मात्र थप ७० मेगावाट विद्युत् ल्याउने सहमति भएको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक शेरसिंह भाटले जानकारी दिए ।
‘विहार क्षेत्रका तीन जयनगर, रक्सौल र वाल्मीकि नगरबाट थप ४५ मेगावाट र दुहबीबाट ५० मेगावाट ल्याइरहेकामा ७५ मेगावाट ल्याउने सहमति भएको छ,’ उनले भने, ‘विहार क्षेत्रको विद्युत् कर्पोरेसनसँग भएको सो सहमतिअनुसार प्राधिकरण बोर्ड बैठकबाट पारित भएपछि आधिकारिक रूपमा सहमति हुनेछ ।’ अहिले प्राधिकरणले दुहबीको अलावा कटैया–राजविराजबाट सात मेगावाट, सीतामडी–जलेश्वरबाट समेत १० मेगावाट विद्युत् आयात गरिरहेको छ भने भारतको उत्तरखण्ड राज्यको टनकपुरबाट ३५ मेगावाट र उत्तर प्रदेशको नेपालगञ्जबाट १० मेगावाट लिइरहेको छ । प्राधिकरणले भैरहवाबाट १० मेगावाट लिने लक्ष्य भए पनि त्यो भने असम्भव देखिएको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणका अनुसार थप ७० मेगावाट विद्युत्सहित अब भारतबाट एक सय ८२ मेगावाट विद्युत् आयात हुनेछ ।
प्राधिकरण प्रसारण तथा प्रणाली सञ्चालन विभागका महाप्रबन्धक राजेश्वरमान सुल्पियासहित निर्देशक भाट बिहार पुगेर भारतबाट थप विद्युत् ल्याउने सहमति गरेका थिए । प्राधिकरणले गत वर्ष ७५ लाख युनिट विद्युत् भारतबाट आयात गरेकामा यो वर्ष एक करोड ५ युनिट आयात गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्यअनुसार भारतबाट थप विद्युत्का लागि वार्ता गर्न प्राधिकरण टोली भारत पुगेको हो ।
प्राधिकरणले लक्ष्यअनुसार १० मेगावाट विद्युत् कम आउने भएकाले र नयाँ डिजेल प्लान्ट स्थापनाको सम्भावना नभएकाले आगामी हिउँदमा १६ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणको अनुमान गरेको छ । १९ घन्टा दैनिक लोडसेडिङ हुने प्राधिकरणको प्रक्षेपणपछि ऊर्जामन्त्रीसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोडसेडिङलाई १२ घन्टामा सीमित गर्न निर्देशन दिएका थिए । सोहीअनुसार ऊर्जा मन्त्रालयले लोडसेडिङ न्यूनीकरण कार्ययोजना समेत बनाएको छ । तर, प्राधिकरण स्रोतका अनुसार पुस महिनादेखि नै १४ घन्टा लोडसेडिङ हुने जनाएको छ । अहिले विद्युत् माग एक हजार मेगावाट रहेकामा दुई सय ४० मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने भारतबाट करिब ११० मेगावाट आयात भइरहेको छ ।

प्रतिक्रिया