अर्थबजार

सहकारी टास्क–फोर्सले प्रतिवेदन बुझाएन

सौर्य अनलाइन २०६९ मंसिर २८ गते ५:२७ मा प्रकाशित

काठमाठौं, २८ मंसिर । सहकारी संस्थाको कारोबार र लगानी स्थितिबारे अध्ययन गरी अनुगमनका लागि सुझाव दिन सरकारले गठन गरेको टास्क–फोर्स समितिले अझै प्रतिवेदन पेस गरेको छैन ।

अर्थमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय वित्तीय समन्वय समितिले ३ भदौमा टास्क–फोर्स गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भने पनि हालसम्म प्रतिवेदन बुझाएको छैन । गठन भएको ४ महिना बित्न लाग्दा पनि हाल सम्म दुईपटक मात्र बैठक बसेको छ ।
अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा टास्क–फोर्स गठन भएको थियो । समितिको काम अन्तिम चरणमा पुगेको सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता तथा समितिका सदस्य सुदर्शनप्रसाद ढकालले जानकारी दिए । सदस्यले आआफ्नो तहबाट काम गरिरहेको र रिपोर्ट बुझाउन केही समय लाग्नसक्ने उनको भनाइ छ । ‘सहकारी विकृतिबारे अध्ययन गर्न टास्क–फोर्स गठन भएको हो,’ ढकालले भने, ‘वित्तीय कारोबार गर्ने सहकारीको कारोबार र लगानीबारे सम्पूर्ण अध्ययन प्रतिवेदन सम्बन्धित सरकारलाई बुझाउने छ ।’
टाक्क–फोर्समा गरिबी निवारण मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय सहकारी संघ, सहकारी विभागका प्रतिनिधि रहेका छन् । फोर्सले बैंक तथा वित्तीय क्षेत्रमा कालोसूचीमा परेका व्यक्तिलाई सहकारीमा पनि रोक्नका लागि आवश्यक उपाय सुझाब दिनेछ । त्यस्तै सहकारीमार्फत घर–जग्गामा लगानी बढेको भन्दै यसबारे पनि अध्ययन गर्न सरकारले आदेश दिएको थियो । सहकारीले घरजग्गामा गरेको लगानी घटाई उत्पादक क्षेत्रमा लगानी बढाउन सुझाव दिइने बताइएको छ । सहकारी विभागको अनुगमनमा सहकारीले ४० प्रतिशतसम्म घरजग्गामा लगानी गरेको पाइएको थियो । विभागको तथ्यांकअनुसार हाल देशभर २५ हजार तीन सय ७१ सहकारी छन् । सहकारीमा करिब ३७ लाख मानिस आबद्ध छन् । सहकारीमा हाल दुई खर्ब ६३ अर्ब रुपियाँ रकम छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय