सशक्त आन्दोलनमा लाग्न नेतृत्वलाई सुझाव

काठमाडौं : एमाले केन्द्रीय सदस्यहरूले निकासका लागि एमाओवादी सजिलै सहमति नआउने स्पष्ट पार्दै सशक्त आन्दोलनको विकल्प नभएको धारणा राखेका छन् ।
उनीहरूले पार्टी मुख्यालय बल्खुमा बुधबार भएको केन्द्रीय कमिटी बैठकमा बुधबार यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्ने सदस्यहरूले मुलुकमा आर्थिक अनियमितता बढेको, सरकारले हत्या आरोपीलाई उन्मुक्ति दिएको, अदालतमा विचाराधीन मुद्दाहरू फिर्ता लिनेजस्ता कार्य गरेको भन्दै त्यस्ता कार्य रोक्न पनि आन्दोलनको विकल्प नभएको धारणा व्यक्त गरेका थिए ।
एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा बोल्ने सदस्यहरूले एमाओवादी सहमतिको नाममा सत्ता लम्ब्याउन खोजिरहेकाले सशक्त आन्दोलनको विकल्प नभएको विचार राखेका थिए । अध्यक्ष झलनाथ खनालको प्रतिवेदनमाथि आºनो धारणा राख्दै उनीहरूले वैशाखमा संविधानसभाको नयाँ चुनाव सुनिश्चित गरिनुपर्ने बताएका थिए । उनीहरूले चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने भन्दै चुनावी सरकारको प्रधानमन्त्री र गृहमन्त्री चुनावमा प्रत्यक्ष वा समानुपातिकमा उम्मेदवार नहुने र उनीहरूका हकमा चुनाव सम्पन्न भएपछि विशिष्ट व्यक्तिलाई मनोनीत गर्ने कोटामा सुरक्षित गर्नुपर्ने प्रस्तावसमेत गरेका थिए ।
बैठकमा सहमतीय सरकारका लागि कांग्रेस नेतृत्वमा सहमति जुट्न नसके पार्टीले नेतृत्वको दाबी प्रस्तुत गर्ने र सबै दलको सहमति जुटाउने तथा अन्य विषयमा पनि विकल्प खुला राख्नुपर्ने धारणा आएको थियो । बुधबारको बैठकमा प्रदीप ज्ञवाली, मुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, भीम रावल, अरुण नेपाल, योगेश भट्टराई, राजेन्द्र गौतम, कर्ण थापालगायत १२ जनाले बोलेका थिए ।
बैठकमा केन्द्रीय सदस्य भट्टराईले राजनीतिक निकासका लागि लिखित प्रस्ताव नै राखेका थिए । भट्टराईले राखेको प्रस्तावमा रावल, नेपाल, न्यौपाने, थापालगायतले समर्थन जनाएका थिए । (सौस)

प्रतिक्रिया