सुदूरपश्चिम विश्वविद्यालयमा पठनपाठन सुरु


कैलाली, २८ मंसिर । सुदूरपश्चिम विश्वविद्यालयले मंगलबारदेखि नियमित कक्षा सञ्चालन गरेको छ ।
महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसबाट शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायका कक्षा सञ्चालनमा आएको विश्वविद्यालयका रजिस्टार डा. हेमराज पन्तले बताए ।
१६ कात्तिकदेखि भर्ना प्रक्रिया थालेको विश्वविद्यालयले १६ मंसिरमा प्रवेश परीक्षा लिएको थियो । २० मंसिरमा सार्वजनिक गरेको प्रवेश परीक्षाको नतिजमा उत्तीर्ण भएका विद्यार्थीलाई भर्ना लिएर विश्वविद्यालयले मंगलबारदेखि कक्षा सञ्चालन गरेको हो ।
कक्षा सञ्चालन गरेको दिनसम्म व्यवस्थापन संकायअन्तर्गत बिबिए मा ६५ विद्यार्थी भर्ना भएका छन् । यस्तै, विज्ञान संकायमा १० ले भर्ना गरेको सिद्धनाथ बहुमुखी क्याम्पसका उपप्रशासक गोविन्द पन्तले बताए । उनका अनुसार विश्वविद्यालयले व्यवस्थापन संकायमा ८० र विज्ञान संकायमा ३० कोटा निर्धारण गरेको छ ।
कक्षा सञ्चालन गरिएको दिनसम्म व्यवस्थापन संकायको बिबिएस, शिक्षा र मानविकी संकायमा ४०–४० ले भर्ना गरेको उपप्रशासक पन्तले बताए । पन्तका अनुसार सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत भर्ना भएका विद्यार्थीको कक्षा बिहान ६ देखि साढे १० बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया