जलाइएकी किशोरीको गयो ज्यान

काठमाडौं, २८ मंसिर । पेट्रोल छर्की आगो लगाइएकी बर्दियाको गुलरियाकी १६ वर्षीया शिवा हासमीको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगन्जबाट थप उपचारका लागि सोमबार वीर अस्पतालमा ल्याइएकी हासमीको बुधबार बिहान निधन भएको हो । आफूसँग विवाह गर्न नमानेको भन्दै भारतीय नागरिक २३ वर्षीय बाबु खानले गत शुक्रबार बिहान ६ बजे हासमीको शरीरमा पेट्रोल छर्की आगो लगाइदिएका थिए । वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले हासमीको शरीर ९० प्रतिशतभन्दा बढी जलेका कारण बचाउन नसकिएको जानकारी दिए । ‘शरीरको सबै भाग जलेका कारण हासमीको उपचारका लागि हरसम्भव प्रयास गरे पनि बचाउन सकिएन,’ निर्देशक डा. थापाले भने ।
हासमीको उपचारमा संलग्न वीरका वरिष्ठ चिकित्सक डा. पियुष दाहालले बुधबार बिहान ७ बजे किशोरीको निधन भएको बताए । थप उपचारका लागि नेपालगन्जबाट उनलाई विभिन्न संघसंस्था तथा व्यक्तिको आर्थिक सहयोगमा सोमबार बेलुकी काठमाडौं ल्याई वीर अस्पतालमा भर्ना गरिएको थियो । ‘अस्पतालको बर्न वार्डको आइसियुमा राखी उपचार भइरहेको थियो,’ डा. दाहालले भने, ‘तर, हासमीको ९० प्रतिशत शरीर गहिरोसँग जलेकाले बचाउन सकिएन ।’ उनका अनुसार शरीरको ५० प्रतिशतभन्दा बढी भाग जले बचाउन गाह्रो हुन्छ ।
मृतक किशोरीको अन्तिम संस्कार गुलरियामा गरिने भएको छ । मृतकका दाजु तनवीरले सम्र्पूण आफन्त गुलरियामै भएकाले शव गुलरिया लगी अन्तिम संस्कार गरिने बताए । यसअघि मंगलबार हासमीको स्वास्थ्य अवस्था बुझ्न मुख्यसचिव लीलामणि पौड्यालसहितको टोली वीर अस्पताल पुगेको थियो । मुख्यसचिव पौडेलले हिंसापीडित किशोरी हासमीको उपचार नि:शुल्क गर्न अस्पतालका निर्देशक डा. बुलन्द थापालाई निर्देशन दिएका थिए ।

किरिया खर्चबापत ३० हजार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार शोक विज्ञप्तिमार्फत हासमीको निधनप्रति दु:ख व्यक्त गरेको छ । ‘यस दु:खद् घटनाबाट शोकाकुल परिवारजनप्रति प्रधानमन्त्री कार्यालयले हार्दिक समवेदना प्रकट गर्दै मृतकको आत्माको चिरशान्तिका लागि प्रार्थना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्दोष किशोरीमाथि पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनाका सम्बन्धमा सरकारी निकायबाट अनुसन्धान सुरु भइसकेको र घटनामा संलग्न जोसुकैलाई कानुनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाइने विज्ञप्तिमा उल्लेख छ । हासमीको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र उनका आफन्तलाई तत्काल राहत तथा किरिया खर्चबापत जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत ३० हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यस्ता हिंसा तथा आपराधिक घटना दोहोरिन नदिन सरकारले हरसम्भव प्रयास गरिरहेको र सरकारको प्रयासमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, गैरसरकारी संघसंस्था, मानवअधिकारकर्मी, पत्रकारलगायत सबैमा अपिलसमेत गरिएको छ ।

घटनाको भत्र्सना
पेट्रोल छर्की आगो लगाइएकी हासमीको निधनपछि राष्ट्रिय महिला आयोग तथा अन्य विभिन्न संघसंस्थाले उक्त घटनालाई जघन्य अपराधको संज्ञा दिँदै भत्र्सना गरेका छन् । भारत घर भई बर्दियामा बस्दै आएका बाबु खानले आफूसित विवाह गर्न नमानेको भन्दै पेट्रोल छर्केर आगो लगाएको भनिएकी किशोरीको उपचारका क्रममा निधन भएपछि ती संघसंस्थाले भत्र्सना गरेका हुन् । उनीहरूले हासमीको उपचार, किरिया खर्च र क्षतिपूर्तिको व्यवस्थासहित घटनाको सही अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
अनुसन्धानका लागि हिरासतमा राखिएका बाबु खान निर्दोष भएको र घटनामा परिवारको समेत संलग्नता भएको दाबीसहित मंगलबार बर्दियामा प्रदर्शन गरिएपछि घटना रहस्यमय बनेको छ । यस्तो अवस्थामा सत्यतथ्य पत्ता लगाई यही घटना नै अन्तिम हुने गरी दोषिमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न सरोकारवालाले सरकारसमक्ष माग तथा खबरदारी गरेका छन् ।

“शववाहन माग्दा तथानाम”
यसै घटनाको विषयमा वीर अस्पतालका निर्देशक डा. थापाले पीडितलाई दुव्र्यवहार गरेको दाबी गरिएको छ । हिंसापीडित किशोरीको मृत्युपछि शववाहनको व्यवस्था गरिदिन आग्रह गर्दा अस्पतालका निर्देशक डा. थापाले झर्किएर तथानाम बोलेको महिला आयोगका अध्यक्ष शेषचाँदताराले बताइन् । ‘पीडितले व्यवस्था गर्न नसकेर अस्पताललाई अनुरोध गर्दा निर्देशक थापाले उपचार गरेकोमा धन्यवाद किन नदिएको भन्दै मनलागी बोल्नुभयो,’ अध्यक्ष ताराले बुधबार आयोगकै कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा भनिन् ।
हासमीको निधनपछि घरेलु हिंसाविरुद्धको राष्ट्रिय सञ्जाल तथा महिला अधिकारकर्मीले संयुक्त रूपमा प्रतिबद्धता तथा शोकसभा गरेका छन् ।

प्रतिक्रिया