मदनको फड्को

काठमाडौं : भारतको सबैभन्दा प्रतिष्ठित र कठिन आँकिएको रोजभ्याली ओपन चेस प्रतियोगितामा नेपालका मदनकृष्ण कायस्थले बुधबार जित हात पारेका छन् । उनले १०औँ चरणमा मंगोलियाका एफएम बुल्गियम सुगम्य (२२६५) लाई पराजित गरे । जितपछि मदनको चार अंक भएको छ । अन्तिम चरणमा पी लोकेससँग खेल्नेछन् । एक सय खेलाडीमध्ये ९८औँ वरीयताका मदनले अस्वाभाविक प्रदर्शन गर्दै ४१ रेटिङ बढाएका छन् ।
प्रतियोगितामा भारतीय जिएम सेतुरमन एसपीले ७.५ अंक जोड्दै अग्रता कायम गरेका छन् । उनले १०औँ चरणमा मल्डोभाका भिरेल इस्डेस्कुलाई पराजित गरे । प्रतियोगिताको मध्यदेखि अग्रता कायम गर्दै आएका पूर्व यु–१४ विश्व च्याम्पियन विदित शंकर गुजराति ७ अंकसहित दोस्रो स्थानमा छन् । प्रतियोगितामा दोस्रो वरीयताका युक्रेनका कोरोबोभ एन्टोनका साथमा भारतीय खेलाडी स्वप्नील धौभडेल, विष्णु प्रशन्ना, दीपसेन गुप्ता र उज्वेकिस्तानका मराट जुबेभको सात अंक छ । (सौस)

प्रतिक्रिया