खोजखबर

हल्ला डिसेम्बर २१ को

सौर्य अनलाइन २०६९ मंसिर २७ गते २:३० मा प्रकाशित

कोही कसैलाई मृत्युको घोषित तिथिले कति घोच्दो हो ? आउन लागेको ‘मृत्यु डेट’ लाई पर्खंदै उसले के–कति इच्छा पूरा गर्दो हो ? के मृत्युलाई जान्न सकिन्छ र ? एउटा मानिसको मृत्युप्रतिको भविष्यवाणीले त यति धेरै छटपटाहट कायम गर्छ भने अझ बाँचिरहेको, भोगिरहेको यो पूरै भूगोल अन्त्यको भविष्यवाणीले झन् कति विरह निम्त्याउँदो हो ? हामीले भोगचलन गरिरहेका घाम, जुन, माटो, हावा, पानी आदि सबै एकै दिन नष्ट हुन्छन् त ? ती निर्जीव वस्तुको सहारामा बाँचेका सजीव प्राणीहरू पनि सबै एकाएक मृत्युको मुखमा पुगेर बिलाउलान् त ? यी प्रश्न त्यसै निम्तिएका होइनन्, संसारमा एकाएक हल्लाका रूपमा विकसित ‘डिसेम्बर २१, २०१२’ त्रासले निम्त्याएको हो ।
चार अर्ब वर्षअगाडि निर्माण भएको मानिने पृथ्वीको खास आयुका बारेमा विभिन्न क्षेत्रबाट आ–आफ्नै तर्क प्रस्तुत गरिएका छन् । विभिन्न प्राकृतिक हलचलका कारण पृथ्वीको भित्री बनोटमा परिवर्तन आइरहेको तथ्यसँग वैज्ञानिकहरू सहमत छन् । पृथ्वीको निर्माणपछि विभिन्न सजीव प्राणीको अस्तित्व कायम भयो । त्यसलाई चाल्र्स डार्बिनको ‘विकासवाद’ले अझ प्रस्ट्याएको छ । संसारमा कुनै समय डाइनोसरजस्तो अजंग प्राणीको पनि अस्तित्व थियो र समयक्रममा लोप भएर गयो भनिन्छ । प्राणीहरू यसरी लोप हुन सक्छन् भने मानवजाति लोप हुन सक्ला कि नसक्ला भन्ने प्रश्न पनि उब्जने गर्छ । डार्बिनको विकासवादलाई आधार मान्ने हो भने संसारमा नयाँ अवस्थासँग जुध्दै संघर्ष गर्न सक्ने प्राणी मात्र अस्तित्वमा रहन सक्छ । र, मानवजाति प्राणीमध्येको सर्वश्रेष्ठ छ । मानवजाति कुनै दिन लोप हुन्छ भनेर अहिलेसम्म कल्पनासम्म पनि गरिएको छैन । मानवजातिको सर्वनास हुन अति नै भयावह स्थिति नै निम्तनु पर्ने वैज्ञानिक मत छ । त्यो भयावह स्थिति भनेको पृथ्वीको अस्तित्वमाथि को प्रश्न हो । अर्बौं वर्ष लागेर यो स्थानमा आएको पृथ्वी के अनुमान गरिएकै समय अर्थात् डिसेम्बर २१, २०१२ मा अन्त्य होला त ? यो प्रश्न अहिले विश्वजगत्मा खुब चर्चामा छ । त्यसो त उक्त मितिमा नै पृथ्वीको अन्त्य हुन्छ भनेर कसरी हल्ला आयो र त्यसका के आधार छन् भन्नेबारे जान्नु उपयुक्त हुन्छ ।
हल्लाको इतिहास
कवि भूपि शेरचनले आफ्नो कविताको एक लाइनमा भनेका छन्– ‘यो हल्लैहल्लाको देश हो ।’ भूपिको यो लाइनसँग सहमत हुँदै कैयौँ रचना लेखेका छन् । भूपि अहिले बाँचेका भए त्यस कविताको लाइन संशोधन गर्दै लेख्थे होलान्– ‘यो हल्लैहल्लाको विश्व हो ।’ खासमा मायान सभ्यताको एउटा क्यालेन्डरको प्रसंगबाट उठेको ‘२१, डिसेम्बर २०१२’ को यो हल्ला अहिले विश्वसामु व्यापक त्रास बनेर फैलिएको छ । मायान क्यालेन्डरमा सन् २०१२ डिसेम्बर २१ पछि कुनै मिति फेला परेको छैन । यसैलाई आधार मान्दै धेरैले डिसेम्बर २१ मा संसार ध्वस्त हुने र नयाँ युगको प्रारम्भ हुने विश्लेषण गरेका हुन् । मायान सभ्यताको क्यालेन्डरको अन्त्यलाई धेरैले आफ्नो अनुकूलको व्याख्या गरेका छन् । कतिले यसलाई क्यालेन्डरको एउटा चक्र सकिएर फेरि अर्को चक्रमा तिथिमिति घुम्ने बताउँछन् । त्यसो त बजारमा मायान क्यालेन्डरको प्रसंगलाई हाँसोका रूपमा पनि लिइएको छ । क्यालेन्डर बनाउनेहरूले बनाउँदाबनाउँदा अल्छी लागेर २१ डिसेम्बर २०१२ मा रोकेको हुन सक्ने गफ हाँक्छन् कतिजना । अनि कतिले चैं एउटा वृत्तमा हजारौँ वर्ष अट्न नसक्ने र एउटा वर्षमा रोक्नुपर्ने भएकोले त्यो क्यालेन्डर रोकिएको हुन सक्ने अनुमान गरेका छन् । त्यसो त मायान क्यालेन्डर खगोलीय तथ्यहरूसँग धेरै मिल्दोजुल्दो पनि देखिन्छ । आकाशीय पिण्डहरूको अवस्थिति, ग्रहणको समय आदिमा यो चुकेको छैन । त्यसैले पनि मायान क्यालेन्डरमा विश्वास राख्नेहरूका लागि सन् २०१२ डिसेम्बर २१ भयात्मक दिन बनेको छ । मायान सभ्यता दुई सय पचास ईशापूर्वदेखि नौ सय ईशापूर्वसम्ममा विकसित भएको मानिन्छ ।
यसबाहेक अरू केही कारण पनि अघि आएका छन्, जसले हल्लालाई मजबुत बनाउन सघाएका छन् । सुमेरु सभ्यतामा पत्ता लागेको मानिने ‘निबेरु’ ग्रह पृथ्वीसँग ठोक्किने र पृथ्वीमा प्रलय निम्तने तर्क गर्नेहरूले हल्लालाई थप विकसित बनाएका छन् । त्यस्तै कतिपयले बाइबलमा सन् २०१२ मा नै सत्य र असत्यबीच युद्ध हुने कुरा उल्लेख भएको बताएका छन् । ‘दि आइ चिङ’ नामक एक चिनियाँ पुस्तकमा पनि सन् २०१२ मा पृथ्वीमा प्रलय आउने कुरा उल्लेख गरिएको बताइन्छ । यी भिन्नभिन्न रूपमा आएका हल्ला एकै ठाउँमा मिसिएर आममानिसमा भय सिर्जना गरिदिएका छन् ।
त्यसो त यस्ता हल्ला प्रत्येक दशकजसो आइरहेका पाइन्छन् । विश्व ध्वंस हुने हल्ला आउने परम्परा नयाँ होइन रहेछ । प्राचीन रोमन इतिहास हेर्ने हो भने त्यसबेला पनि यस्ता हल्लाले मानिसलाई दु:ख दिने गरेका भेटिएका छन् । १८औँ शताब्दीयता हरेक दशकको दुईदेखि तीनपटकसम्म यस्ता हल्ला आउने र जाने गरेका पाइन्छन् । यद्यपि, उति बेला प्रविधिको अहिलेजस्तो विकास थिएन, निश्चित समुदायबाहेक त्यो हल्ला अन्त फैलन पाउँदैनथ्यो । अहिलेको उच्चतम प्राविधिक विकासले विश्वलाई खुम्च्याएको छ, एउटा कुनामा चलेको हल्ला पृथ्वीको दुर्गम कुनाको मान्छेले पनि थाहा पाउँछ । विभिन्न वेबसाइटले यो हल्लालाई बढाएका छन् । डिसेम्बर २१, २०१२ लाई नैं इंगित गरेर बनाइएका वेबसाइट गुगलमा प्रशस्तै पाइन्छ । साइन्स फिक्सनमा आधारित विभिन्न चलचित्रले पनि यो हल्लाको आगोमा घिउ थपिदिएका छन् । केही समयअघि बजारमा ‘२०१२’ नामक हलिउड चलचित्रले ठूलै हंगामा मच्चाएको थियो । यस्ता चलचित्रले हल्ला त बढाएकै छन्, आममानिसमा त्रासको सञ्चार पनि गरिदिएका छन् ।
हल्लाको प्रभाव
आगामी डिसेम्बर २१ मा संसार ध्वस्त हुने हल्लाको बढी प्रभाव पश्चिमा राष्ट्रमा परेको छ । एउटा अध्ययनअनुसार बेलायतका प्रत्येक १२ मानिसमध्ये एक जना हल्लाप्रति विश्वास गर्छन् र पृथ्वीसँगै आफू पनि समाप्त हुने धारणा राख्छन् । करिब अढाइ करोड अमेरिकी पनि यो हल्लाप्रति विश्वास राख्छन् । रूसमा त हल्लाले व्यापक रूपै लिएपछि त्यहाँका सञ्चारमाध्यमले यो निराधार भएको भनेर विशेष सामग्री प्रसारण नै गर्नुपर्‍यो । कतिपय व्यक्ति त आफूले खाइपाई आएको जागिर र काम नै छोडेर मोजमस्तीमा लागेको समाचार सुन्नमा आएको छ । बेल्जियमका प्याट्रिल गोरिलले त्यहाँको एउटा टेलिभिजनसँग भनेका थिए– ‘मैले आज कामबाट राजीनामा दिएँ, डिसेम्बर २१, २०१२ सम्म पुग्ने पैसा र सम्पत्ति मसँग छ । अब म मज्जाले मस्ती गर्छु ।’ प्याट्रिलजस्तै नमुना पात्रहरूको कुराकानी अहिले मिडियामा बिकाउ सामग्री बन्न थालेका छन् । अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डलाई प्यारोडीमा उतारेर आगामी डिसेम्बर २१ मा संसार ध्वस्त हुँदै छ भन्ने खालको भिडियो बाहिर आएपछि त्यसले ठूलै चर्चा बटुल्यो । कतिपयले त्यस प्यारोडी भिडियोलाई साँच्चैको भिडियो भनेर हल्ला गर्नसमेत भ्याए ।
विज्ञान के भन्छ ?
हल्लाले चर्कै रूप लिएपछि अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ मुख खोल्न बाध्य भयो । उसले हल्ला निराधार भएको ठोकुवा गरेको छ । करोडौँ वर्षअघि निर्माण भएको संसार अझ करोडौँ वर्षसम्म रहने नासाको तर्क छ । आफ्नो वेबसाइटमार्फत सम्पूर्ण मानवजगत्लाई विश्वस्त हुन आग्रह गरेको छ । उसले विश्वभरिका विश्वासिला वैज्ञानिकहरूले संसार केही समयमा नै ध्वस्त हुने कुनै आधार फेला नपरेको जिकिर गरेको छ । मायान सभ्यताका बारेमा सोधिएको प्रश्नमा नासाले मायान क्यालेन्डरमा मिति सकिनुको अर्थलाई पृथ्वीको आयुसँग जोड्न नसकिने बताएको छ । त्यस्तै कुनै क्षुद्र ग्रह पृथ्वीतिर ठोक्किन आउने सम्भावना नभएकोतर्फ पनि उसले विश्वस्त गराएको छ । कुनै ग्रह पृथ्वीसँग ठोक्किन आउने भए त्यसलाई पहिल्यै पहिल्याउन सकिने वैज्ञानिकहरुको तर्क छ । हल्ला गरिएजस्तो काल्पनिक ग्रह ‘निबेरु’ पृथ्वीमा नठोक्किने वैज्ञानिक डा. दयानन्द वज्राचार्यको मत छ । विज्ञानले अहिलेसम्म नभेट्टाएको सो ग्रह ठोक्किन्छ भन्नुमा कुनै तुक नभएको उनी बताउँछन् । ‘यदि त्यस्तो कुनै ग्रह पृथ्वीमा ठोक्किने हो भने नासालगायत संस्थाले उहिल्यै पत्ता लगाउनुपर्ने हो’, उनले भने– ‘डिसेम्बर २१ मै यस्तो घटना गराउने गरी त्यो ग्रह आइरहेको हुन्थ्यो त अहिलेसम्म नांगो आँखाले नै देखिने सकिने अवस्थामा हुन्थ्यो ।’ सम्पूर्ण ग्रह एउटै रेखामा आएर तीन दिनसम्म ‘ब्ल्याकआउट’ हुने हल्लामा पनि तथ्य नरहेको बताउँदै उनले अहिलेसम्मको खगोलीय रेकर्डेड इतिहासमा त्यस्तो घटना नभएको र तत्कालै त्यस्तो नहुने जानकारी गराए । चार अर्ब वर्षअघि निर्माण भएको पृथ्वी अझैँ कयौँ वर्ष टिक्ने उनको मत छ । ब्रह्माण्डमा ग्रहहरूको दूरी समयक्रमसँगै बढ्दै गएको र त्यो दूरी बढेर एक दिन ब्रह्माण्ड नै लोप हुने संभावनालाई भने उनले वैज्ञानिक सिद्धान्तको आधारमा औंल्याए । ‘यद्यपि, त्यो समय आउन अभैँm लाखौँ वर्ष लाग्छ’, उनले भने ।
पूर्वीय मान्यता र सभ्यतालाई केलाउने हो भने पनि संसार अहिले नै ध्वस्त हुने कुरा बकवास मात्र हुन् । हिन्दू ग्रन्थमा उल्लेख चार युगमध्ये अहिले कलियुग चलिरहेको छ । कलियुगको कुल आयु ४३ लाख दुई हजार वर्ष रहेको र अहिलेसम्म पाँच हजार एक सय १८ वर्ष मात्र बितेको विश्वास गरिन्छ । यस अर्थमा हिन्दू शास्त्रले पृथ्वीमा अझै लाखौँ वर्षसम्म कुनै प्रलय नआउने बताउँछ ।
कुनै पनि हल्ला आफसेआफ या प्रायोजित रूपमा चलाइएको हुन सक्ने विश्लेषकहरू दाबी गर्छन्  । तर, एकाएक विश्वभर फैलिएको यस हल्लाको कारणलाई भने सबैले आफ्नो अनुकूलले व्याख्या गर्ने गरेका छन् । कतिपयले यसलाई क्रिस्चियनहरूको नेटवर्क फैलाउने दाउ भनेका छन् त कतिपयले पश्चिमा मुलुकले आर्थिक मन्दीबाट राहत पाउन चालेको चाल । तर, कुनै पनि कुरामा खास आधार भने भेटाइन्न । जे होस्, हल्लालाई बढी मात्रामा इन्टरनेट सञ्जालले नै हल्लाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय