“डोपिङ” ले लगाएको दाग

त्यो दिन म तनहुँमा सम्मान थापिरहेको थिएँ । मेरो आफ्नै गृहजिल्ला । हप्तौंदेखि देशैभर मेरो वाहवाही चलिरहेको थियो । जता फर्किए पनि प्रशंसाका शब्द मात्र बर्सिरहेका थिए । यो सफलतामा मेरो जिल्ला अनि गाउँ पनि त्यत्तिकै खुसी थिए, जति म थिएँ । सन् २००६ मा कोलम्बोमा सम्पन्न १०औँ सागमा दुई स्वर्ण जितेको थिएँ मैले । त्यही खुसी गाउँमा बाँडिरहेको थिएँ ।
साग सकिएको एक महिनाजति मात्र भएको थियो, मेरा लागि जताततै खुसीयाली मात्रै थियो । यसैबीच काठमाडौंबाट फोन आयो– ‘तपाईं डोपिङ परीक्षणमा असफल हुनुभयो, तपाईंका दुईटै पदक खोसिने भए †’ एक्कासि छाँगाबाट खसेजस्तै भएँ, खुसीहरू चकनाचूर भए । सम्मानहरूले आपैँmलाई जिस्क्याएजस्तो लाग्न थाल्यो । राष्ट्रिय खेलकुद परिषद्ले पत्रकारसम्मेलनमार्फत यो जानकारी सर्कुलर गराइसकेको रहेछ । तर, यी सबै गतिविधि गर्नुअगाडि राखेपले मलाई कुनै जानकारी गराएन । खेलजीवनको उच्च फर्ममा थिएँ । यो घटनाले मेरो मनोबल नमोठिदियो ।

बच्चैदेखि आर्मीमा जागिर खाने सपना थियो मेरो । २०५१ सालमा त्यो पूरा भयो । त्यति बेला आर्मीमा अन्तर गण किङ्स ब्यानर प्रतियोगिता हुन्थ्यो । पहाडमा जन्मेको, हुर्केको मान्छे म, उति धेरै कुरा थाहा थिएन । म कार्यरत छाउनीस्थित जगदल गण खेलकुदमा उति अगाडि मानिँदैनथ्यो । एकचोटि गणका ३०–३५ जना एथलेटिक्स खेलाडीलाई एक वर्षको ट्ेरनिङमा राखियो । त्यहाँबाट छाँटिएका दश राम्रा खेलाडीमा म पनि परेँ । किङ्स ब्यानर प्रतियोगितामा हाम्रो गण दोस्रो स्थानमा आउन थाल्यो । यस्ता प्रतियोगितामा राम्रो क्षमता देखाएका खेलाडीलाई त्रिभुवन आर्मी क्लबमा राखिन्थ्यो । २०५२ सालमै मैले पनि क्लबमा स्थान बनाएँ ।
२०५५ सालमा चौथो राष्ट्रिय खेलकुद भयो । त्यसको पाँच हजार मिटर र तीन हजार मिटर स्टिपल चेसमा दोस्रो स्थान हात पारेँ मैले । एक वर्षपछि भएको आठौँ सागमा पनि सहभागी हुने अवसर पाएँ । यसको तीन हजार मिटर स्टिपल चेसमा चौथो भएँ । राष्ट्रिय टोलीमा मेरो उपस्थिति बलियो हुँदै गयो । ०५७ सालमा जाकार्तामा सम्पन्न एसियन च्याम्पियनसिपमा पाँच हजार मिटरमा पाँचौँ स्थान हात पारेँ । सन् २००१ मा मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपको यही स्पर्धामा छैटौँ भएँ । सन् २००४ को नवौँ साफले ३ हजार मिटर स्टिपल चेस र पाँच हजार मिटरमा रजत पदक दिलायो मलाई ।
सोही वर्ष ग्रिस ओलम्पिकको पाँच हजार मिटरमा ३० सेकेन्डले समय सुधारेर राष्ट्रिय कीर्तिमान बनाएँ । एसियाका स्टार खेलाडी सहभागी हुने एसियन अलस्टार च्याम्पियनसिपमा सहभागी हुन पाएँ । कतारमा सम्पन्न यो प्रतियोगितामा त पहिलो स्थानै हात पारेँ । पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जित्दाको त्यो क्षण निकै रोमाञ्चक लाग्छ अहिले पनि । संयोग परेछ पनि त्यस्तै । म सबैलाई उछिनेर अगाडि दौडिरहेको थिएँ । मभन्दा पछिपछि थिए कतारका खेलाडी । कतारी समर्थकहरू चर्को हुटिङ गरिरहेका थिए । मैले जितेँ, कतारी समर्थकहरू खुसीले झनै चिच्याए । कुरो के परेछ भने उनीहरूले मलाई चाहिँ कतारको खेलाडी ठानेछन् । पछि उद्घोषकले विजेता खेलाडी नेपालको भन्दा त स्टेडियमभरि सन्नाटा छायो । फिलिपिनो खेलाडी दोस्रो र कतारका खेलाडी तेस्रो हुन पुगेका थिए ।
०००
यी सफलताले अन्तर्राष्ट्रिय एथ्लेटिक्समा राम्रै चर्चा बटुलिरहेको थिएँ । यस्तो अवस्थामा डोपिङको आरोपमा प्रतिबन्धित हुनु ठूलो क्षति थियो मेरा लागि । मलाई थाहा थियो– ममाथि अन्याय भएको हो, कसैले गद्दारी गरेको हो । मैले आफूले जानेर कुनै त्यस्तो औषधि खाएको थिइनँ । आफूलाई सम्हालेँ । बुझेको थिएँ– अन्जानवश डोपिङमा परेका खेलाडीलाई बढीमा दुई वर्षको प्रतिबन्ध हुन्छ । म त भर्खर २९ वर्षको न थिएँ । आफ्नो क्षमता पुष्टि गर्न मसँग अझै प्रशस्त समय थियो । हीनताबोध हुनै दिइनँ । अब खेल्नै छाडिदिन्छु भन्ने भावना आउनै दिइनँ । कति बेला प्रतिबन्ध सकिएला र आफ्नो क्षमता पुष्टि गरौँला भनेर हतारिन्थ्यो मन ।
त्यसपछि कुनै पनि कार्यक्रममा सहभागी भइनँ । खिसी गर्नेहरूलाई वास्ता पनि गरिनँ । आफ्नै पाराले मेहनत गरिरहेँ । खेलकुद बुझ्ने मान्छेले मलाई उत्साहित नै गरे । कहिल्यै झोक्राएर एक्लो बसिनँ । साथीहरू र आफन्तको बीचमा हुन्थेँ, रेडियो सुन्थेँ । बुझ्नेहरूले भन्थे– ‘तपाईंलाई फसाइएको हो, त्यसैले एकचोटि फेरि जितेर त्यो आरोपलाई गलत साबित गर्नुपर्छ तपाईंले ।’
नेपाल आर्मीले त मलाई राम्ररी चिनेकै थियो । राम्रो मान्छे बिग्रन दिनुहुन्न भन्नेमा सचेत थिए उनीहरू । त्यसैले मलाई शान्तिसेनामा पठाउने निर्णय भयो । म दोषी हुँ भन्ने लागेको भए त सेनाले मलाई कारबाही पनि गर्न सक्थ्यो । ६ महिना शान्तिसेनामा रहँदा पनि नियमित प्रशिक्षण छोडिनँ । फर्किएपछि पनि निरन्तरता दिई नै रहेँ । खाली समयको सदुपयोग गरौँ भनेर त्यही बेला घर पनि बनाएँ ।
असोज ५ गते मेरो प्रतिबन्ध फुकुवा हुने दिन थियो । सोही दिन काठमाडौंमा रियल म्याराथन पनि हुँदै थियो, मलाई सहभागी हुन दिइएन । रातिसम्म पनि प्रतिबन्ध नसकिएको कारण देखाउँदै आयोजकले रोकिदिए । जसरी हुन्छ, मलाई कमब्याक चाहिएको थियो । म्याराथनबाहेक अन्य स्पर्धाको अन्तर्राष्ट्रिय सेड्युल थिएन । म्याराथनबाटै कमब्याक गर्ने योजनामा थिएँ । त्यसको केही हप्तापछि अन्तर्राष्ट्रिय काठमाडौं म्याराथन भयो । दुई वर्षको ग्यापमा आउँदा पनि मैले त्यसमा पहिलो स्थान हात पारेँ । १०औँ सागका रजत विजेता अर्जुन बस्नेत पछि परे । सायद ‘राजेन्द्र दोषी हो, उसको करियर सकियो’ भनेर रमाउनेहरूले गतिलो झापड पाए मेरो यो जितपछि ।
०००
मेरो तत्कालको लक्ष्य थियो, ११औँ साग । यसमा स्वर्ण जितेर मैले आफूमाथि लगाइएको दाग मेटाउनु थियो । त्यही इखले होला, तयारी पनि व्यापक गरिरहेको थिएँ । मन दुखेको थियो, त्यसैले प्रशिक्षण गदागर्दै झस्कन्थेँ । अनि झन् चनाखो हुन्थेँ, साहस जुटाउँथेँ । यहीबीच ताप्लेजुङमा भएको हिमालयन गाइड्स म्याराथनमा दोस्रो स्थान ल्याएको थिएँ, अर्जुन पहिलो भए । सोही प्रदर्शनका आधारमा बंगलादेश सागमा छनोट भएँ । लाग्छ– यो एघारौँ सागमा म जीवनकै सबैभन्दा उच्च फर्ममा थिएँ । एक घन्टा ५९ मिनेटमै दूरी पूरा गरेर पहिलो भएँ । तर, यसको विश्वकीर्तिमान २ घन्टा १५ मिनेटको रहेछ । मैले यति छोटो समय निकालेपछि दूरीबारे शंका भयो । नाप्दा त ३९ किलोमिटर मात्रै पो रहेछ । साह्रै दु:ख लाग्यो । पूरै दूरी थियो भने पनि मैले नयाँ विश्वकीर्तिमान बनाउने नै रहेछु । दुर्भाग्य भन्नुपर्छ यसलाई । मुलुककै लागि पनि एउटा सुनौलो कीर्तिमानमा नाम लेखाउने अवसर फुत्कियो । यसलाई पछि रोड रेसको नाम दिइयो । जे भए पनि स्वर्ण जितेर दुनियाँलाई जवाफ दिने मेरो उद्देश्य भने पूरा भइसकेको थियो । दुई वर्षसम्म प्रतिबन्ध भोगेर अन्तर्राष्ट्रिय प्रतियोगितामा यस हिसाबले फर्किनु चानचुने कुरा पक्कै थिएन ।
०००
जहिलेदेखि खेल्न थालेँ, नेपाली खेलकुद विवादमा अल्झिँदै आएको देखिरहेको छु । कहिले राखेप, कहिले ओलम्पिक कमिटी त कहिले संघ विवादका कारण खेलाडीले तनाव झेल्नुपरिरहेको हुन्छ । मानौँ– नेपाली खेलकुदमा विवाद सुन्नकै लागि आइएको हो । खेलाडीमा खेलकला मात्र नभएर विवादमा रमाउने क्षमता पनि अनिवार्य गुणजस्तो ।
विशेष गरी खेलकुदमा हाबी राजनीतिले यस्तो अवस्था निम्त्याएको मलाई लाग्छ । विवादकै कारण पछिल्ला दुईवटा राष्ट्रिय खेलकुदमा नेपाल आर्मी सहभागी भएन । यसको क्षति एउटा खेलाडीलाई कति पर्छ, त्यो अरूलाई सायदै थाहा होला । विवादरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धाको अवस्था हुन्थ्यो भने मैले अझै माथिल्लो कोटिको क्षमता प्रस्तुत गर्न सक्थेँ जस्तो लाग्छ । खासमा नबुझेरै खेलकुदमा छिरे पनि लागेपछि छाड्नै गाह्रो हुँदो रहेछ । नशाजस्तो पो रहेछ । हुन त खेलाडीले पाउने के हुन् र ? फर्ममा रहुन्जेल दुई–चार दिन चर्चा, खेल्न छाडेपछि फेरि एउटा अन्जान जिन्दगी । सबैबाट बेखबर भएर थन्किनुपर्छ ।
०००
हरेक खेलाडीको चाहना राष्ट्रका लागि धेरै समय खेलौँ र योगदान गरौँ भन्ने हुन्छ । मैले पाँचवटा विधामा राष्ट्रिय कीर्तिमान बनाएको छु । दुईचोटि एथलेटिक्सको उत्कृष्ट वर्षखेलाडीमा पनि दरिएँ । लामै समय राष्ट्रिय खेलकुदमा बिताएँ । तर, अब शारीरिक क्षमताले पनि नभ्याउने स्थिति बन्दै छ । ३६ वर्षको पो भइसकेछु । सायद अब सक्रिय खेलाडीका रूपमा नेपाली खेलकुदमा रहन्नँ होला । अरू जिम्मेवारी पनि त पूरा गर्नुपर्‍यो नि † यसबीच मैले सिकेको कुरा के हो भने जुनसुकै स्थितिमा पनि खेलाडी आत्तिनु हुँदैन रहेछ । सफलतालाई पर्खिनुपर्छ, त्यसका लागि प्रशिक्षण र मेहनतचाहिँ छोड्नुहुँदैन ।
०००
करियरका हरेक सुखदु:खमा नेपाल आर्मीले गतिलो साथ दिएको छ मलाई । आर्मीको जागिर र समर्थन नहुँदो हो त आज यहाँ हुन्नथेँ होला । अहिले लप्टन भएको छु । अलस्टार जितेपछि जम्दार भएको थिएँ । १०आँै सागमा स्वर्ण जितेपछि अधिकृत (उपसेनानी) भएँ । आर्मीमा थिइनँ भने सडकमा भातका सिता छान्नुपर्ने अवस्था हुन्थ्यो कि जस्तो लाग्छ, सम्झँदा ।
प्रस्तुति : लोकेन्द्र प्रसाईं

प्रतिक्रिया