मध्यमस्र्याङ्दीको सामान ल्याउन रोक

काठमाडौं, २४ मंसिर । आवश्यकभन्दा बढी सामान ल्याएका कारण लमजुङको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाका थन्किएका सामान कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा उपयोग गर्न खोज्दा स्थानीयवासीले अवरोध पुर्‍याएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको कुलेखानी तेस्रोको लागि प्राधिकरणकै निर्णयअनुसार ल्याउन लागिएको सिल्डसमेत नतोडिएका ती नयाँ सामान ल्याउन अवरोध पुर्‍याइएको हो । प्राधिकरणको निर्णयअनुसार कुलेखानी तेस्रोका लागि २० टन फलामको डन्डी, १५ टन वारेसनेस र ३० टन आइबिम ल्याउन लागिएको थियो तर सामान लिन गएका चार ट्रकमध्ये दुई ट्रक भने अवरोधका कारणले ल्याउन सकिएन । ६५ टन नै जर्मनबाट ल्याइएका यी सामान मध्यमस्र्याङ्दीले आवश्यकताभन्दा बढी ल्याउनाले विगत पाँच वर्षदेखि आयोजना कार्यालयवरपर थन्किएर बसेका थिए । तिनै सामान कुलेखानी आयोजनाका लागि उपयुक्त देखिए पनि प्राधिकरणकै निर्देशनअनुसार कुलेखानी तेस्रो आयोजनाले आयोजनास्थलमा ल्याउन लागेको थियो ।
नयाँ सामान थन्किएर बसे पनि प्राधिकरणले पहिला कवाडीका रूपमा बेच्ने प्रयास गरेको थियो तर स्थानीय युवाको विवादले टेन्डर प्रक्रिया अवरुद्ध भएको थियो । प्राधिकरण पूर्वकार्यकारी निर्देशकहरू टीकाराम बिसी र महेन्द्रलाल श्रेष्ठका पालामा प्राधिकरणले निर्माण गरेको आयोजनाका लागि ती सामान उपयुक्त हुने बताउँदै कुलेखानीलाई दिने निर्णय भएको थियो । कुलेखानीले ल्याउन लागेका ती सामानको मूल्य मात्र करिब ६५ लाख रुपियाँ पर्छ । ‘प्राधिकरणकै निर्णयअनुसार सामान ल्याउन लागेका थियो तर स्थानीयवासीले अवरोध गरे,’ कुलेखानी तेस्रो जलविद्युत् आयोजनाका प्रमुख मधुसूदनप्रताप मल्लले भने, ‘नयाँ सामान किन्नुसट्टा टाँचासमेत नफुकालेका ती नयाँ सामान प्राधिकरणले प्रयोग गर्न अवरोध नआउनु पर्ने हो तर ल्याउन दिइँदैन ।’ उनका अनुसार सामान लिन गएका चार ट्रकमध्ये दुई लोड भइसकेका थिए भने दुई लोड हुने तयारीमा थिए । आफ्नो जिल्लामा आएका सामान बेचेर आफ्नै जिल्लाको विकास निर्माणका लागि खर्च गर्नुपर्ने र अवैध रूपमा सामान लैजान लागेको भन्दै उनीहरूले अवरोध पुर्‍याएका थिए । लोड गरेर दुई ट्रक बिहीबार अवरोध पुर्‍याएपछि प्रहरी कार्यालयभित्र राखेर सुरक्षित ट्रकलाई सुरक्षित बनाइएको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि दुई ट्रक सामान ल्याउन दिए पनि अन्य दुई ट्रक भने खाली फर्काइएको थियो । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाका अनुसार १४.५ टन वारेसनेस, ५.७ टन आइबिम र १०.८ टन डन्डी मात्र आयोजनाले ल्याउन सकेको छ । स्थानीयवासीको अवरोधका कारणले आयोजनाले ३४ टन सामान ल्याउन सकेन भने दुई ट्रक रित्तै फर्किए ।
प्राधिकरण स्रोतका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनामा १५ करोडभन्दा बढीको सामान छ तर कौडीको भाउमा बेच्ने प्रयास गरिएको छ । त्यो प्रयास स्वरूप प्राधिकरणले पहिला टेन्डर आह्वानसमेत गरेको थियो । जसअनुसार पाँच वर्षअघि एक करोड पाँच लाख रुपियाँमा टेन्डर आह्वान गरेको थियो । धेरै सामान नयाँ भएकाले अरू जलविद्युत् आयोजनामा उपयोग गर्न खोजेपछि कौडीकै भाउमा बेच्ने र त्यसबाट आर्थिक फाइदा उठाउनका लागि स्थानीवासीले अवरोध गरेको प्राधिकरण स्रोतले जनाएको छ । ‘मध्यमस्र्याङ्दीमा १५ करोडभन्दा बढीका सामान थन्किएका छन्, नयाँ सामान मात्र तीन करोडभन्दा बढीको छ तर आर्थिक चलखेलमा कौडीको भाउमा बेच्ने प्रयासका लागि कुलेखानीमा ल्याउन नदिएको हो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘प्राधिकरणको आफ्नो सामान ल्याउन अवरोध गर्दा पनि लमजुङ प्रशासनले खासै सहयोग गरेन ।’ उनका अनुसार प्राधिकरणकै निर्णयमा सामान ल्याउन लागे पनि शुक्रबारको छलफलमा प्रशासन कार्यालयका अधिकारीले अवैध रूपमा लान लागेको भन्दै प्राधिकरणका कर्मचारीलाई उल्टो हकारे र अवरोध फुकाउन पहल गरेनन् । दुई ट्रक सामान लगेपछि अर्को सामान लिन नआउनुभन्दै खाली ट्रक फर्काए पनि प्रशासनले प्राधिकरणको निर्णयअनुसार सामान लैजानका लागि वातावरण नबनाएको प्राधिकरण स्रोतले जनाएको छ ।
प्राधिकरणले उचित सुरक्षा दिन नसक्दा ५० लाखभन्दा बढीका सामान चोरी भइसकेका छन् भने प्राधिकरणको उचित निर्णयको अभाव अधिकांश सामान अलपत्र अवस्थामा र खिया लागेर बिग्रने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया