कुण्डलिनी जागरण

तिमीहरू साधना गर्छौ, आध्यात्मिक साहित्य पढ्छौ, गुरुमा विश्वास गर्छौ, गुरुको मार्गदर्शन र निरन्तर सामिप्यता प्राप्त गर्दछौ– तिमीहरू र अरू व्यक्तिमा ठूलो अन्तर छ । तिनीहरूलाई आफू कहाँ उभिएको छु भन्ने कुरासमेत थाहा छैन, जबकि तिमीहरूले आफ्नो मार्ग रोजिसकेका छौ । तिमीहरू आफ्नो बाटोमा अग्रसर हुन तत्पर छौ तर तिनीहरू फ्याकिएको दिशाहीन पत्थर जस्तै निन्द्रामै जहाँ कहीँ हिँडिरहेका छन् । तिमीहरू यसै मार्गमा लागिसकेपछि निरन्तर अघिबढिरहने हो । गुरु हरदम तिमीहरूका पछाडि खडा रहनेछन्…… जुन क्षण रोकिने छौ, अगाडि धकेल्ने छन्, प्रेरित गरिरहनेछन् । गुरुले सोध्ने छन्– म तिमीलाई धकेलिरहुँ ? यदि, तिमीहरूले धक्का सहन सकेनौ भने गुरु रोकिने छन् । तर, तिमीहरूले सुतेरै सारा जिन्दगी विताउन चाह्यौ भने गुरुको प्रयासले कुनै लाभ हुनेछैन ।
मैले एकपटक भनेको थिएँ– बुद्ध, कृष्ण भन्दा कैयौँ सय वर्षपछि उत्पन्न भएका हुन् । ध्यान दिएर हेर्ने हो भने पच्चीस सय वर्षको चक्र निरन्तर चल्दै आएको छ । कृष्ण र बुद्धको समयमा पनि यही नै अन्तर थियो । आज बुद्ध वितेको पनि ठीक पच्चीस सय वर्ष भइसकेको छ । त्यसैले चैतन्यताको नयाँ लहर, एक नयाँ व्यक्तित्व संसारमा उदाउने छन् ।
उनलाई चिन्न सक्नु, गुरुका रूपमा पाउन सक्नु नै तिमीहरूको सच्चा सौभाग्य हुनेछ । किनभने तब मात्र तिमीहरूको जीवन प्रकाशयुक्त हुनेछ ।
यसैले तिम्रा अगाडि हात फैलाउने व्यक्ति गुरु हुन सक्दैन । गुरुले त शिष्यलाई अप्ठ्यारोमा पारेर परीक्षा पनि लिन्छन् । कबीरले एक ठाउँमा भनेका छन्– गुरु कुम्हार शिष्य कुम्भ है, गाढि काढे खोट भीतरि भीतरि सहजिकरि, बाहरि बाहरि चोट ।। जसरी कुम्हालेले बाहिर हिर्काउँदै भित्रबाट साहारा दिएर माटाको भाँडो तयार गर्छ । ठीक त्यस्तै प्रकारले गुरुले पनि शिष्यलाई आफ्नो आध्यात्मिक बल दिँदै कठोर परीक्षा पार गर्न लगाउँछन् । यसको उद्देश्य शिष्य उच्चस्तरमा पुगोस् भन्ने नै हो । माटोले यो सबै कष्ट पार नगरेसम्म शीतल र मधुर जलको कलश बन्न सक्दैन । त्यो माटोको डल्लो मात्र रहन्छ । र, तिमीहरू पनि अहिलेसम्म माटोको डल्लो मात्र हौ । यदि, तिमीमा प्रहार सहने क्षमता छ भने निश्चय नै दीपक अथवा कलश बन्ने छौ । होइन भने एक दिन तिम्रो शरीरले आफ्नो पहिचान गुमाउने छ, माटोमा मिल्न जानेछ । समस्त चराचर विश्व पञ्चतत्वबाटै बनेको छ– भू, जल, अग्नि, वायु, आकाश/ भू को अर्थ हो माटो र माटोमा मिल्न जानु नै हर व्यक्तिको नियति हो ।
वायु पुराणमा स्वयं उल्लेख छ– प्रत्येक व्यक्ति ऊ चाहे पाँच वर्षको होस् या असी वर्षको, कुम्हालेले कलश या दीपक नवनाएसम्म ऊ माटोको डल्लो मात्रै हो । अनुभवी कुम्हालेलाई थाहा हुन्छ यो माटो कस्तो छ, कति प्रहार खप्न सक्छ, उसलाई यो पनि थाहा छ बालुवाबाट कलश बनाउन सकिँदैन । मानिस मात्र माटोको डल्लो हो । विश्वामित्रले त्रिशंकुलाई स्वर्ग पठाउन चाहे तर इन्द्रले बीचमै रोकिदिए ।
इन्द्रले भने– मानव आफ्नो बाह्य शरीरका साथ स्वर्गमा प्रवेश गर्न सक्दैन किनभने ऊ माटो हो । त्यसमा पापको दुर्गन्धबाहेक केही छैन । वास्तविकता यही हो । मानव शरीरलाई यदि चीरफार गरेर हेर्‍यो भने– भित्र मासु, मल–मूत्र, मज्जाबाहेक केही हुँदैन । यो शरीरमा अरूथोक पनि केही छ र ? अनि यस्तै हो भने हामी यो शरीरका लागि यति विघ्न चिन्तातुर किन ? किन यो शरीरको सौन्दर्यको मदमा डुबिरहने ?
वास्तविक आनन्द प्राप्त गर्नका लागि तिमीहरू अध्यात्ममा प्रवेश गर्नै पर्छ । र, आध्यात्मिक जगतमा त्यतिबेला मात्रै पुग्ने छौ जब भौतिक जगतको सीमा नाघिसक्ने छौ । यो सीमा नाघ्नुको अर्थ हो– कुण्डलिनी जागरणद्वारा, पापलाई शरीरबाट समाप्त गर्नु ।
यो शक्ति तिमीहरूकै शरीरमा सुप्तावस्थामा विद्यमान छ । यसलाई कुण्डलिनी जागरण भनिन्छ । कुण्डलिनीको सहायताबाटै व्यक्ति आध्यात्मिक जगतमा प्रवेश गर्न सक्दछ । यो जागरण क्रियाको एक अंश हो– तृतीय नेत्र अर्थात् आज्ञा चक्र खुल्नु । कुण्डलिनी सहस्रार अर्थात् मस्तिष्कमा गएर अवस्थित हुन्छ । यसलाई छैटौँ इन्द्रिय जागरण भनिन्छ । यो शक्तिको जागरण केवल गुरु कृपाबाट मात्रै सम्भव छ ।
अनुवाद: शिव ढकाल
तन्त्र–मन्त्र–यन्त्र विज्ञान पत्रिकाबाट

प्रतिक्रिया