ज्ञानेन्द्र सपरिवारथाइल्यान्डतर्फ

काठमाडौं, २३  मंसिर । मादक पदार्थ सेवन गरी होटलमा तोडफोड गरेको आरोपमा थाइल्यान्डमा प्रहरी हिरासतमा रहेका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र सपरिवार त्यसतर्फ लागेका छन् । शुक्रबार दिउँसो सिल्क एयरबाट सिंगापुर लागेको पूर्वराजपरिवार शनिबार दिउँसो मात्रै थाइल्यान्ड जानेछ ।
झन्डै दुई वर्षदेखि परिवारसित सम्पर्कविहीन भएर थाइल्यान्डमा बसिरहेका छोरा पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, ज्वाइँ राजबहादुर सिंह, नाति/नातिनासहित त्यसतर्फ गएका हुन् । उनीहरूसँगै पूर्वराजाका सचिव सागर तिमिल्सिना र सुरक्षा गार्ड राजीव शाही पनि रहेका छन् । उनीहरू सिल्क एयरबाट दिउँसो साढे दुई बजे सिंगापुर उडेका हुन् ।
कोमलको सिंगारपुरमा उपचार गराउने पूर्वराजपरिवारको पूर्वनिर्धारित कार्यक्रम नै थियो । तर, थाइल्यान्डमा रहेका पूर्वयुवराज पारस पक्राउ परेपछि उपचारभन्दा पहिले उनलाई भेट्ने कार्यक्रम ज्ञानेन्द्रले बनाएको दरबारनिकट स्रोतले जनाएको छ । ‘सिंगापुर जाने योजना त पहिलेकै हो तर पारस हिरासतमा परेपछि उपचारभन्दा पहिले थाइल्यान्ड जाने योजना बनेको हो,’ स्रोतले भन्यो ।

दुई साताअघि थाइल्यान्डकै एक होटलबाट गाँजा र एक महिलासहित पक्राउ परेका पारस जमानतमा रिहा भएका थिए । गत सोमबार त्यहाँको अदालतले उनलाई दोषी ठहर गर्दै एक महिना लागुऔषध सुधारकेन्द्रमा राख्न आदेश दिएको थियो । तर, उनी छाती दुखेको भन्दै अस्पताल गएका थिए । सुधार केन्द्र जान नसक्नुको कारण बताउन उनी प्रहरीकहाँ गएका थिए । त्यही दिन प्रहरीले उनलाई मादक पदार्थ सेवन गरी सुकुम्बित होटल तोडफोड गरेको आरोपमा हिरासतमा लिएको थियो । होटलमालिकले २० लाख भाट (करिब ५७ लाख नेपाली रुपियाँ) बराबरको क्षति पुर्‍याएको उजुरी गरेका छन् ।
छाती दुखेको भन्दै पुन:स्थापना केन्द्र जान नमानी अस्पताल गएका पारस फेरि पक्राउ परेपछि पूर्वराजपरिवार चिन्तित बनेको स्रोतले जनाएको छ । ‘पारसलाई भेटेपछि मात्रै उपचार गर्ने कार्यक्रम तय भएको हो,’ स्रोतले भन्यो । पारसलाई भेटेपछि पूर्वराजा ज्ञानेन्द्र सपरिवार सिंगापुर फर्किनेछन् । लामो समय बस्ने भएकाले उनले सिंगापुरमा ºल्याट नै लिएका छन् ।
सिंगापुरमा रहँदा पूर्वराजा ज्ञानेन्द्रले केही भारतीय नेतासित भेट्ने कार्यक्रम पनि बनाएको दरबारनिकट व्यक्तिहरूले जनाएका छन् । केही दिनअघि नेपाल आएका भारतीय नेता करण सिंहसितको भेटपछि भारतीय नेताहरूलाई भेट्ने कार्यक्रम र मिति तय भएको उनीहरूको दाबी छ । ‘को–कोसित कुन दिन भेट्ने भन्ने त अहिले नै तय भएको छैन तर भेट्ने कार्यक्रम भने छ,’ दरबारनिकट स्रोतले भन्यो ।

प्रतिक्रिया