कारागारको अवस्था सुधार्न ध्यानाकर्षण

काठमाडौं, २२ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले कारागार तथा बन्दीगृहको अवस्था सुधार्न सरकारको ध्यानाकर्षण गराएको छ ।

भूकम्प, आगलागी एवं सुरक्षा दृष्टिले कारागारको अवस्था जोखिमपूर्ण रहेको भन्दै आयोगले सुधार गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको छ । आयोगले अधिकांश कारागार तथा बन्दीगृह बन्दीको अत्यधिक चापका कारण अव्यवस्थित रहेको जनाएको छ । महिला बन्दी र तिनका साथमा रहेका बालबालिकाको उचित लालनपालन र शिक्षादीक्षाको व्यवस्था नभएकोमा आयोगले चिन्तासमेत व्यक्त गरेको छ ।
आयोगको पत्रमा यथार्थमा कारागार यातनागृह नभई सुधारगृह भएको उल्लेख छ । बन्दीको हकहित संरक्षण तथा व्यावसायिक सीप विकास, शिक्षा आर्जन र स्वास्थ्य, शारीरिक तथा मानसिक विकासका निम्ति आवश्यक सीपमूलक तालिम, पुस्तकालय र खेलकुदको प्रबन्ध मिलाउन आग्रह गरिएको छ । ‘कारागार तथा बन्दीगृहको अवस्थामा यथोचित सुधार गरी राष्ट्रिय मानवअधिकार आयोगको ‘कारागार तथा हिरासत अनुगमन मार्गनिर्देशिका, २०६५’अनुसार बन्दीको हकहित सम्वद्र्धन र संरक्षणमा तत्काल सुधार ल्याउन आवश्यक देखिन्छ,’ पत्रमा भनिएको छ, ‘आयोगले विगतमा यससम्बन्धी गरेका सिफारिस र सरकारले नै बनाएका ‘कारागार सुधारसम्बन्धी उच्चस्तर आयोग’ले दिएका सुझावलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्छ ।’

प्रतिक्रिया