शीर्ष बैठकमा आ–आफ्नै अडान

काठमाडौं, २१ मंसिर । सहमतीय सरकार र प्रधानमन्त्रीका बारेमा टुङगो लगाउन बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक पुनः निष्कर्ष विहीन सक्किएको छ ।
काठमाडौंमा आज बसेको शीर्ष बैठकमा संविधानका आधारभूत विषय र सरकारका बारेमा एकैपटक सहमति गर्नुपर्ने एमाओवादीको प्रस्तावमा कुरा मिल्न नसकेको हो । दलहरुका बीच सहमति हुन नसके पछि राष्ट्रपतिलाई पुनः म्याद थपका लागि आग्रह गर्ने सहमति शीर्ष बैठकमा भएको छ ।
प्रमुख दलहरुले सहमतिको प्रयासमा पुनः छलफल गर्ने जनाएका छन् ।
बैठक पछि एमाले उपाध्यक्ष बामदेव गौतमले दलहरुका बीच सहमति हुन नसकेको बताए । ‘अब विपक्षी दलहरुले आन्दोलन गर्छन,’ उनले भने, ‘जस्ले जित्छ उसैले सरकार चलाउँछ ।’
एमाओवादीले संविधानका अन्तरवस्तु प्रत्यक्ष निर्वाचित राष्ट्रपति, संघीयताको स्वरुप र संख्या, राज्य पुनसंरचनालगायतमा सहमति गर्न प्रस्ताव गरेको छ । आफ्ना माग प्याकेजमै पुरा भए मात्रै कांग्रेसलाई सरकारको नेतृत्व दिने एमाओवादीले जनाएको छ ।
बैठकमा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया