नयाँ सर्त सत्ता लम्बाउने खेलः ज्ञवाली

काठमाडौं, २१ मंसिर । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दलहरु सहमतिको नजिक पुगेको अवस्थामा एमाओवादीबाट नयाँ सर्त आउनु सत्ता लम्ब्याउने खेलमात्र भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले मंसिर भित्र निर्वाचनका लागि सबै प्रवन्ध मिलाउन नसके यो वर्ष निर्वाचन हुन नसक्ने बताए ।
उनले भने, ‘एकपछि अर्को सर्त थप्नु सत्ता लम्ब्याउने र निर्वाचन नगर्ने षडयन्त्र मात्रै हो ।’ एमाओवादी र मधेसी मोर्चालाई निकासका लागि गम्भीर हुन सुझाव दिए ।
उनले बैशाखमा निर्वाचन गर्न संबैधानिक बाधा अड्काउ फुकाउनु पर्ने, निर्वाचनको लागि आवश्यक क्षेत्र, संख्या र विधी मिलाउनु पर्ने एवं संविधानसभाले गरेको कुराहरुलाई संरक्षण गर्न सहमति गर्नु पर्ने बताए ।
उनले भने, ‘यस्तो बेलामा अनेक किसिमका बखेडा झिकेर एमाओवादी र मधेसी मोर्चाले सहमतिबाट पछि हट्न खेजेका छन् ।’

प्रतिक्रिया