एकीकृत माओवादी प्याकेजकै पक्षमा

काठमाडौं, २० मंसिर । एमाओवादीले दलहरुका बीच प्याकेजमै राजनीतिक सहमति हुनु पर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा आज बसेको पदाधिकारी बैठकले प्याकेजमा सहमति नहँुदा सम्म सरकार नछाड्ने निर्णय गरेको हो ।
एमाओवादीले निर्वाचन, संविधान, कानूनी जटिलतालगायतमा प्याकेजमै सहमति हुने पुर्ने जनाएको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुका बीच संविधान सभाको नयाँ निर्वाचनका बारेमा टुङगो लाग्नुपर्ने उल्लेख गरे ।
एमाओवादीका विदेश संगठन विभाग प्रमुख कृष्णबहादुर महराले कांग्रेससँग राजनीतिक विषयहरुमा सहमति भए नेतृत्व दिन सकिने बताए । उनले भने, ‘राजनीतिक एजेण्डाहरुमा सहमति भयो भने सहमतीय सरकारको नेतृत्व कांग्रेसलाई दिन कुनै आपत्ति छैन ।’
कांग्रेसले सहमतीय सरकारको नेतृत्व पाउने दाबी गरिरहेका बेला एमाओवादीको सो निर्णय आएको छ । यस अघि मंगलबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेसलाई प्रधानमन्त्रीको नाम दिन एमाओवादी र एमालेले आग्रह गरेका थिए ।

प्रतिक्रिया