महासंघद्वारा भाडावृद्धिको विरोध

काठमाडौं : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विगतमा उद्योग पक्ष र व्यवस्थापन पक्षबीचको सहमतीविपरीत औद्योगिक क्षेत्र भित्रका उद्योगले चर्चेको जग्गा तथा भवनको भाडा एकतर्फी अत्याधिक वृद्धि गरेका प्रति नेपाल उद्योग वाणिज्य महासंघले विरोध गरेको छ ।
०५४ सालमा दुवै पक्षबीच भाडा वृद्धि गर्ने सम्बन्धमा भएको सहमति र सम्झौताविपरीत कर्मचारी संगठनसँग सम्झौता गरी एक पक्षीय ढंगले आठ सय ५० देखि १४ सय प्रतिशतसम्म भाडा वृद्धि भएको विरोधमा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले जारी गरेको आन्दोलनका कार्यक्रममा महासंघले ऐक्यवद्धता जनाउँदै एकतर्फी रूपमा गरिएको अत्याधिक भाडा वृद्धिको विरोध गरेको हो ।
यसबीचमा मुलुकभित्र स्वदेशी एवं विदेशी लगानी वृद्धि गर्न उद्योग व्यवसाय क्षेत्रलाई विभिन्न प्रोत्साहनदायी सुविधा उपलब्ध गराउनुपर्नेमा वर्षांैदेखि उद्योग व्यवसाय चलाउँदै आएको ठाउँबाटै उद्यमी व्यवसायी विस्थापित हुने यो निर्णयको महासंघ घोर भत्सर्ना गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । (सौस)
भाडा वृद्धि कार्य तत्काल रद्द गरी समयसापेक्ष एवं मुद्रास्फितीलाई आधार मानी औद्योगिक क्षेत्र भित्रका उद्योगको प्रतिनिधि संस्था नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघसँग वार्ता गरी सहमतिपछि मात्र नयाँ भाडादर तय गर्न महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया