विद्युत् उत्पादन घट्यो

पर्वत: पर्वतमा रहेका जलविद्युत् आयोजनाबाट क्षमताभन्दा आधा मात्रै विद्युत् उत्पादन हुन थालेको छ ।
पर्वतको चुवा गाविसमा रहेको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजना, पातीचौरस्थित मोदीखोला जलविद्युत् आयोजना र देउराली गाविसमा रहेको पातीखोला जलविद्युत् आयोजनामा विद्युत् उत्पादन आधा घटेको हो ।
हिउँ लागेसँगै मोदीखोला र पातीखोलामा पानीको सतह घटेपछि विद्युत् उत्पादन पनि आधाभन्दा बढी कटौती भएको हो ।
चुवा गाविसमा रहेको १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाबाट ५ मेगावाट मात्रै विद्युत् उत्पादन हुन थालेको छ । मंसिर महिना लागेपछि खोलामा पानीको सतह घटेसँगै विद्युत् उत्पादन पनि आधा क्षमतामा भइरहेको आयोजना निर्देशक उपेन्द्रराज गौतमले बताए ।
पानी नपुगेकाले आयोजनाको विद्युत् गृहमा जडित दुईवटा टर्बाइनमध्ये एउटा मात्रै सञ्चालनमा ल्याइएको छ ।     त्यसैगरी पर्वतकै पातीचौरमा रहेको १४ दशमलव आठ मेगावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रबाट एक तिहाई क्षमतामा मात्रै विद्युत् उत्पादन भइरहेको छ । मोदीखोला जलविद्युत् केन्द्रबाट दिउँसोको समयमा चार दशमलव पाँच र साँझ पाँच मेगावाट क्षमतामा मात्रै विद्युत् उत्पादन भइरहेको थियो । आयोजनाको इन्टेकमा पानी चुहिने समस्याका कारण खोलामा रहेको सबै पानीसमेत नहरमा पुग्न सक्दैन । आयोजनाको इन्टेकको डिजाइन नै परिवर्तन गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।
यस्तै देउराली गाविसमा रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाबाट पनि ६०० किलोवाट मात्रै विद्युत् उत्पादन भइरहेको छ । पातीखोलाबाट वैशाख–जेठमा दुई सय किलोवाट पनि विद्युत् उत्पादन गर्न कठिन हुने गरेको छ भने हिमनदी भएकाले मोदीखोलामा गर्मी सुरु भएपछि हिउँ पग्लदा पानीको सतह बढ्ने भएकाले विद्युत् उत्पादन बढ्ने गरेको छ । माघ महिनामा उत्पादन आधाभन्दा पनि धेरै घट्ने तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका निर्देशक उपेन्द्र गौतमले बताए । (सौस)

प्रतिक्रिया