दक्षिण अफ्रिका फेरि शीर्षमै

पर्थ, १९ मंसिर । तेस्रो तथा अन्तिम म्याचमा ३ सय ९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको टेस्ट क्रिकेट शृंखला १–० ले जितेको छ । यस सफलतासँगै दक्षिण अफ्रिका टेस्ट वरीयता क्रममा शीर्षस्थानमा पुन: एकपटक उक्लियो ।
६ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया चौथो दिन ३ सय २२ रनमा समेटियो । मिचेल स्टार्क र नाथन ल्योनले १०औँ विकेटका लागि ८७ रनको साझेदारी गरी बहादुरी प्रदर्शन गरे पनि अस्ट्रेलिया जितबाट निकैपछि परिसकेको थियो । स्टार्कले अविजित ६८ रन बनाए भने ल्योनको नाममा ३१ रन रह्यो । स्टार्क र प्रारम्भिक ब्याट्सम्यान एड कोवान (५३) बाहेक अस्ट्रेलियाको इनिङमा कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय योगदान गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका डेल स्टेयन र रोविन पिटरसनले समान तीन विकेट लिए ।
पोन्टिङको बिदाइ
दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदान पर्थमा खेलिएको तेस्रो टेस्टसँगै रिकी पोन्टिङ अन्तर्राष्ट्रिय क्रिकेटबाट औपचारिक रूपमा बिदा भएका छन् । उनले तेस्रो खेल सुरु हुनुअघि आफू पर्थ टेस्टपछि सन्न्यास लिने घोषणा गरेका थिए । पोन्टिङको बिदाइमा दक्षिण अफ्रिकी खेलाडीले मैदानमै सम्मान व्यक्त गरेका थिए । आफ्नो खराब प्रदर्शनका कारण पोन्टिङले सन्न्यास लिएको बताइसकेका छन् । एजेन्सी

प्रतिक्रिया