सुन्तला उत्पादन दश प्रतिशतले बढ्यो

उदयपुर, १९ मंसिर । चालु आवमा उदयपुरमा सुन्तला उत्पादनमा दश प्रतिशतले वृद्धि भएको छ । सुन्तला फुल्ने सिजनमा मौसम अनुकूल भएका कारण उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बागबानी विकास अधिकृत तिरपितनारायण मिश्रले बताए । करिब दुई हजार पाँच सय हेक्टरमा लगाइएको सुन्तला प्रतिहेक्टर १४ मेट्रिकटन उत्पादन भएको जनाइएको छ । गत वर्ष करिब दुई हजार मेट्रिकटन उत्पादन भएको थियो भने यो वर्ष तीन हजार मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

जिल्लामै ठूलो मात्रामा सुन्तला उत्पादन गर्ने कृषक उदयपुरको ओख्ले गाविस वडा नं. ८ का तोपबहादुर ठकुरीले सुन्तला खेतीबाट सोचेभन्दा बढी आम्दानी गरेको बताए । ४२ वर्षीय ठकुरीले आफ्नै ११ रोपनी जग्गामा गरेको सुन्तलाखेतीबाट यो वर्ष दश लाख रुपियाँ आम्दानी गरेका छन् । ६ लाख २५ हजार रुपियाँसम्म आम्दानी लिने लक्ष्य लिए पनि दश लाखको सुन्तला बोटबाटै बिक्री गरेको उनले बताए ।
सुन्तलाको बोटमा पातलो फल देखिए पनि ठूलो दाना फलेकाले बढी आम्दानी भएको उनको भनाइ छ । ०६२ सालमा तीन सय सुन्तलाका बिरुवा रोपेर सुन्तला खेती गरेका ठकुरीले ०६६ सालदेखि सुन्तलाबाट आय आर्जन गर्न थालेका थिए । कात्तिक र मंसिर महिनामा उनले सुन्तला गाउँमा २७ रुपियाँ केजीको दरले चार लाख ५० हजारको बिक्री गरी अन्य सुन्तला जनकपुरमा आफैँले लगेर ४६ रुपियाँ किलोको दरले बिक्री गरेको बताए । उनले बगानमा सुन्तला, जुनार, कागती र अनारलगायतको फलफूल रहेका छन् । उनले यो वर्ष थप छ रोपनी जग्गामा सुन्तला बगान लगाएका छन् । अन्य बालीसँगको दाँजोमा सुन्तलाखेतीले बढी आम्दानी दिने, तीन चार वर्षसम्म बिरुवालाई राम्ररी हुर्काएपछि लगातार ७० वर्षसम्म आम्दानी दिनसक्ने उनी बताउँछन् । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा वृद्धि भए पनि जिल्ला दुर्गम क्षेत्रमा उत्पादित सुन्तलाले भने आवश्यक बजार नपाउँदा कृषक चिन्तित बनेका छन् । प्रशस्त मात्रामा सुन्तला उत्पादन भए पनि बिक्रीका लागि बजारको अभाव भएको कृषकले बताएका छन् । सुन्तला उत्पादन हुने क्षेत्रहरू जिल्लाको पहाडी गाविस ताम्लिछा, रूपाटार, लाफागाउँ, बलम्ता, बाराहा, बाँस्बोटे पर्दछन् । यी क्षेत्रमा यातायातका साधन नपुग्ने भएका कारण कृषक डोकोमा बोकेर बजारसम्म लाने गर्छन् भने कतिपय कृषकको बगानमै कुहिएर नष्ट हुने गरेको छ ।

प्रतिक्रिया