जिप्रकाअगाडि धर्ना

काठमाडौं : मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरूले श्रमअधिकारको सुनिश्चितताका लागि जारी कानुन पालनामा दबाब दिन सोमबार काठमाडौं जिल्ला प्रशासनअगाडि धर्ना दिएका छन् । होटल, डान्स बार, रेस्टुरेन्ट, दोहोरी, मसाज सेन्टरहरूमा काम गर्ने श्रमिकहरूको आत्मसम्मान र मर्यादालाई व्यवस्थित गर्न सरकार उदासीन रहेको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाए ।
‘श्रमजीवी महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्स बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५’लाई अक्षरश लागू गराउन प्रजिअलाई ध्यानाकर्षण गराइएको शक्ति समूहकी सिर्जना केसीले बताइन् । निर्देशिकामा उल्लेख गरिएबमोजिम महिला कर्मचारीलाई रोजगारीसँगै नियुक्तिपत्र दिनुपर्ने, काम गर्दा परिचयपत्रको व्यवस्था गरिनुपर्ने, निश्चित समय तोकिनुपर्ने, यौन हिंसा गर्न नहुनेलगायत अनिवार्य व्यवस्था पनि कार्यान्वयन नभएको ज्ञापनपत्रमा उल्लेख छ । (सौस)

प्रतिक्रिया